site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आणविक कार्यक्रम पारदर्शी बनाउन इरानलाई राष्ट्रसंघको चेतावनी

कायरो । संयुक्त राष्ट्रसंघले इरानलाई आफ्नो आणविक कार्यक्रम पारदर्शी बनाउन चेतावनी दिएको छ । राष्ट्रसंघको परमाणु निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाका महानिर्देशक राफायल ग्रोसीले सोमबार यस्तो आग्रह गरेका हुन् । 

उनले इरानी विदेशमन्त्री तथा प्रमुख वार्ताकार अब्बास अराघचीसँग कायरोमा हुने भेटघाटअघि यस्तो भनाइ सार्वजनिक गरेका हुन् । 

एक दिनअघि बाहिरिएको एक प्रतिवेदनमा इरानले ६० प्रतिशतसम्म प्रशोधित युरेनियम उत्पादन तीव्र रूपमा बढाएको उल्लेख छ । यो मात्रा ९० प्रतिशतको नजिक छ, जुन आणविक हतियार बनाउन प्रयोग हुने स्तर मानिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामी कुनै पूर्वाग्रह वा स्वार्थबिना यथार्थ बयान गर्ने प्रयास गर्छौं । प्रतिवेदनले अवस्थालाई जस्ताको तस्तै देखाएको छ,” ग्रोसीले भने, “इरानभित्र अझ पारदर्शिता आवश्यक छ भन्ने स्पष्ट छ । केही गतिविधिको पूर्ण विवरणबिना विश्वास कायम गर्न सकिँदैन ।”

इरानले भने उक्त निष्कर्षलाई राजनीतिक प्रेरणाले प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएको छ । इरानी पक्षले प्रतिवेदन भ्रामक र अविश्वसनीय जानकारीमा आधारित भएको दाबी गरेको छ ।

युरोपेली मुलुकले उक्त प्रतिवेदनका आधारमा आणविक प्रतिबन्ध पुनः लगाउने प्रयास गरे भने इरानले जवाफस्वरूप कारबाही गर्ने इरानी विदेशमन्त्रीले बताए । शनिबार भएको टेलिफोन संवादमा अराघचीले यस्ते चेतावनी दिएका हुन् । 

इरान र संयुक्त राज्य अमेरिकाबीच आणविक कार्यक्रमसम्बन्धी वार्ता चलिरहेको छ । सन् २०१८ मा अमेरिका एकपक्षीय रूपमा तेहरानसँग भएको सम्झौताबाट पछि हटेपछि अवस्था थप जटिल भएको थियो । 

इरानले सोमबार यस्तो नयाँ सम्झौता हुने हो भने प्रतिबन्ध हटाउने ग्यारेन्टी गर्न माग गरेको छ।

सन् २०१५ मा भएको सम्झौताले इरानलाई आणविक हतियार निर्माण गर्न नदिने उद्देश्य राखेको थियो । पश्चिमी देशहरूले इरानमाथि यस्तो हतियार बनाउन खोजेको आरोप लगाउँदै आए पनि इरानले सधैँ त्यसलाई अस्वीकार गर्दै आएको छ ।

इरानी विदेशमन्त्रीले शनिबार ओमानको मध्यस्थतामा भएका पाँच चरणका वार्तापछि अमेरिकाको प्रस्तावका केही अंश प्राप्त भएको जानकारी दिए । 

संयुक्त राष्ट्रसंघको आणविक ऊर्जा संस्थाको कार्यकारी परिषद्को बैठक आगामी (जुन ९)देखि भियनामा सुरु हुँदै छ, जसमा इरानको आणविक गतिविधिको विस्तृत समीक्षा गरिनेछ ।रासस/एएफपी 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्