site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्कटल्यान्डमा करण चम्किँदा नेपालको कीर्तिमानी जित

काठमाडौं । करण केसीको उत्कृष्ट ब्याटिङप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्यान्डविरुद्ध कीर्तिमानी जित निकालेको छ । नेपालले सोमबार भएको खेलमा स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो ।

स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा करणले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिमले प्रस्तुत गरेको २९७ रनको लक्ष्य नेपालले ४९.५ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो हालसम्मकै ठूलो लक्ष्य हो । यसअघि नेपालले सन् २०२३ मा नामिबियाविरुद्ध र २०२४ मा क्यानडाविरुद्ध समान २८६ रनको लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका करण केसीले सर्वाधिक ६५ रन बनाए । करणले अविजित रहँदा ४१ बलमा तीन चौका र चार छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करणको यो पहिलो अर्धशतकसमेत हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाललाई अन्तिम ओभरमा सात रन आवश्यक हुँदा पहिलो बलमै सन्दीप लामिछाने आउट भएका थिए । अन्तिम ओभर बलिङका निम्ति आएका मार्क वाटले सन्दीपलाई जर्ज मुन्सीबाट क्याच गराएका थिए । ११औँ नम्बरमा ब्याटिङमा आएका रिजन ढकालले पहिलो बल खेल्ने प्रयास गरे पनि वाइट भयो । दोस्रो बल डट हुँदा तेस्रो बलमा रिजनले एक रन लिएपछि करण स्ट्राइकमा आएका थिए । त्यसपछिका दुई बलमा लगातार समान दुई रन लिँदा नेपाललाई जितका निम्ति अन्तिम बलमा एक रनको आवश्यकता थियो । वाटले अन्तिम बल वाइट फ्याक्दा नेपाली टिमले एक रनको रोमाञ्चक जित निकालेको हो ।

त्यसअघि अन्तिम दुई ओभरमा नेपाललाई जितका निम्ति २५ रनको आवश्यकता हुँदा करणले १८ रन प्रहार गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए ।

करणबाहेक, नेपालका ओपनर कुशल भुर्तेलले ५३ रनको अर्धशतकीय इनिङ खेले । गुल्सन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहितकुमार पौडेलले ३७ र आसिफ सेखले २० रन थपे ।

स्कटल्यान्डका ब्रान्डन म्याकमुलमले तीन विकेट लिए । ज्याक जार्भिस र माइकल लियस्कले समान दुई विकेट लिँदा मार्क वाट र जस्पेर डविडसनले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २९६ रनको योगफल खडा गरेको थियो ।

स्कटल्यान्डका ओपनर चार्ली टिएरले सर्वाधिक ८० रन बनाए । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । चार्लीले ७७–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति कप्तान रिची बेरिङ्टनसँग ७९ रनको साझेदारी गरेका थिए ।

कप्तान बेरिङ्टनले ४० रन थपे । यस्तै, फिनली म्याकार्थीले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए ।

म्याथ्यु क्रसले ३९ र ब्रान्डन म्याकमुलमले १९ रन जोडे । माइकल लियस्क र जर्ज मुन्सीको नाममा क्रमशः १८ र १२ रन रह्यो । वार्क वाटले १० रन थपे ।

नेपालका करण केसी, रिजन ढकाल र सोमपाल कामीले दुई–दुई विकेट लिए । १० ओभर बलिङ गर्दा करणले एक मेडनसहित ४३ रन खर्चिए । यस्तै, सन्दीप लामिछानेले एक विकेट लिए ।

यो जितसँगै नेपाल तालिकाको सातौँ स्थानमा उक्लिएको छ । नेपालले प्रतियोगिताको १३ खेलबाट आठ अंक जोडेको छ ।

नेपाली टिमले नवनियुक्त प्रशिक्षक स्टुअर्ट लको आगमनपछि नेपालको यो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हो ।

तालिकाको चौथो स्थानमा रहेको स्कटल्यान्डले भने १७ खेलबाट २० अंक जोडेको छ । स्कटल्यान्डमा आजैदेखि सुरु भएको त्रिदेशीय शृंखलामा घरेलु टोली, नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ००:०६
प्रतिक्रिया दिनुहोस्