site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
देशका नौ स्थानीय तहसँग भरतपुर महानगरको भगिनी सम्बन्ध

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले देशका नौ स्थानीय तहहरूसँग भगिनी (मितेरी) सम्बन्ध कायम गरेको छ । पछिल्लोसमय भरतपुरमा भइरहेको तीव्र पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा भइरहेको उल्लेखनीय फड्कोले देशभरका पालिकाहरूको ध्यान खिच्न थालेको छ । यसै क्रममा विभिन्न पालिकाहरूले भरतपुरसँग भगिनी सम्बन्धको प्रस्ताव राख्न थालेका छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले धेरै पालिकाबाट भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव आएको बताइन् । ती प्रस्तावहरू कार्यपालिकाबाट क्रमशः पारित गर्दै औपचारिक रूपमा सम्बन्ध कायम गर्ने कार्य अगाडि बढाइएको उनले जानकारी दिइन् । भगिनी सम्बन्धले दुई पालिकाबीच असल अभ्यास, नीति, कार्यक्रम र परियोजनाहरूको आदानप्रदानमा सहजता ल्याउने र आपसी सिकाइमार्फत दुवै पालिकाको सशक्तिकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महानगरले हालसम्म पोखरा महानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, धुरकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, राप्ती गाउँपालिका, पचाल झरना गाउँपालिका, माडी नगरपालिका, डोल्पाको मुड्केचुला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिकासँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । पछिल्लोसमय अन्य पालिकाबाट पनि यस्तै प्रस्तावहरू आउन थालेको र मासिक रूपमा एक दर्जन जति पालिकाहरू भरतपुर भ्रमणमा आउने क्रम बढेको जनाइएको छ । 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्