
काठमाडौं । नेकपा एमालेले संवैधानिक आयोगहरूले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त नहुने बताएको छ ।
अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुद्दा दर्ता गरेपछि नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि मुद्दा दर्ता भएको टिप्पणी गरेका थिए ।
नेपालको सो भनाइप्रति एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका हुन् । माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्ति भएको बर्तौलाले बताए ।
संसद्को गतिरोध अन्त्य हुन नसकेको विषयमा उनले प्रतिपक्षी दल जिम्मेवार बन्न नसकेको आरोप लगाए । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बिहीबार संसद्को गतिरोध अन्त्य हुने र गृहमन्त्रीले बोल्न पाउने विश्वास सत्तापक्षको रहेको तर प्रतिपक्षी दल जिम्मेवार बन्न नसक्दा संसद् अवरुद्ध हुन पुगेको बताए ।
बजेटका विषयमा सदनमा छलफल हुन नदिने कुरा गलत भएको भन्दै उनले यसलाई प्रतिपक्षीले बुझ्न जरुरी रहेको उल्लेख गरे । हिमालयन टेलिभ्वाइस