site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चिनियाँ राष्ट्रपति सीसँग फोनवार्तापछि ट्रम्पले भने– म चीन जान्छु

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग फोनमा सकारात्मक कुराकानी भएको बताएका छन् । राष्ट्रपति सीलाई ट्रम्पले अमेरिका भ्रमणको निम्तो पनि दिइएको बताइएको छ । तर, दुवै पक्षले भ्रमणको पुष्टि गरेका छैनन् ।

फेब्रुअरीमा ट्रम्पले बेइजिङसँग व्यापारयुद्ध सुरु गरेपछि दुवै नेताहरूबीच भएको यो पहिलो संवाद हो । चिनियाँ राज्य सञ्चालित मिडियाले उक्त फोनवार्ता ह्वाइट हाउसको अनुरोधमा भएको रिपोर्ट गरेको बीबीसीले जनाएको छ ।
 
दुई राष्ट्रपतिबीच डेढ घण्टा लामो कुराकानी मुख्य रूपमा व्यापारमा केन्द्रित भएको थियो । वार्ताबाट दुवै देशका लागि एकदमै सकारात्मक निष्कर्ष आएको भन्दै ट्रम्पले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उहाँले मलाई चीन भ्रमणका लागि निमन्त्रणा गर्नुभयो र मैले पनि उहाँलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरेँ,” ट्रम्पले ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको भेटमा सीसँगको कुराकानीबारे भने ।

“हामी दुवैले भ्रमण स्वीकार गरेका छौँ । त्यसैले म कुनै समयमा प्रथम महिलासँगै त्यहाँ जानेछु र उहाँ पनि सम्भवतः चीनकी प्रथम महिलासँगै यहाँ आउनुहुनेछ,” उनले भने । 

चीनले जारी गरेको कुराकानीको सारांशमा चीनको निमन्त्रणाबारे उल्लेख गरिएको भए पनि ह्वाइट हाउसको निमन्त्रणको उल्लेख गरिएको छैन ।
 
चिनियाँ समाचार एजेन्सी सिह्न्वाका अनुसार, सीले ट्रम्पलाई अमेरिकाले चीनविरुद्ध लिएका नकारात्मक कदमहरू फिर्ता लिनुपर्ने बताएका थिए ।

चिनियाँ नेताले ट्रम्पलाई चीनले सधैँ आफ्ना वाचा पूरा गर्ने बताएको र सहमति भइसकेपछि दुवै पक्षले त्यसको पालना गर्नुपर्ने बताएका छन् । यो हालै जेनेभामा दुई राष्ट्रबीच भएको सम्झौताको सन्दर्भ हो ।

दुवै पक्षले एक अर्कालाई व्यापार शुल्क नाटकीय रूपमा घटाउने उद्देश्यले गरिएको सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । जुन सम्झौतालाई ट्रम्पले एक पूर्ण पुनःसुरुवातको रूपमा वर्णन गरेका थिए । बीबीसी 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्