
काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले समग्र कृषिक्षेत्रको विकासका लागि उत्कृष्ट कृषि केन्द्र (एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स) स्थापना गर्न माग गरेकी छिन् । राष्ट्रिय सभामा आर्थिक वर्ष ०८२/८३ को बजेटबारे आफ्ना धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।
“माटोको गुणस्तर परीक्षण प्रणाली, उचित बाली छनोट, बीउको गुणस्तर र उपचार प्रणाली, बीउ उब्जाउ प्रोत्साहन, बीउ संकलन संयन्त्र, कृषि प्रणालीलाई व्यवसायीककरण, दिगो र आधुनिक बनाउने विषयलगायत समग्र कृषिक्षेत्रको विकासका निम्ति उत्कृष्ट कृषि केन्द्र (एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स) स्थापना गर्नुपर्छ,’ उनले भनिन्, “यसबाट वैज्ञानिक, प्राध्यापक, कृषिविज्ञ, इन्जिनियर, उद्यमी, विद्यार्थी र किसानले रोजगारी पाउनेछन् । यसले नेपाललाई निर्यातमुखी कृषि राष्ट्र बनाउनेछ ।”
शाक्यले हाल नेपालमा ५०० भन्दा बढी स्टार्टअप दर्ता भइसकेको भन्दै सन् २०३० सम्म १० हजार स्टार्टअप र १०० भन्दा बढी युनिकर्न कम्पनी दर्ता हुने र ५० हजारभन्दा बढी रोजगारी सिर्जना हुने अनुमान रहेको उल्लेख गरिन् ।
शाक्यले बजेटले कृषि आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, सिँचाइ सुविधा विस्तार, उन्नत बीउ तथा मलको उपलब्धता, बजारीकरण र यान्त्रिकीकरणमा जोड दिएको भन्दै उनले त्यो सकारात्मक रहेको उल्लेख गरिन् । “यसले भूमि बाँझो नहुनुका साथै खाद्य सम्प्रभुता सुनिश्चित गर्न र किसानको जीवनस्तर उकास्न मद्दत गर्नेछ,’ शाक्यले भनिन्, “बजेटले मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि सकारात्मक प्रयास गरेको छ ।”
बजेटको सफल कार्यान्वयनका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण देशवासीको साझा प्रयास आवश्यक रहेको उनले औँल्याइन् ।