
काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम सुरु भएको छ । महानिरीक्षक दीपक थापाको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा शुक्रबार आधारभूत तालिम उद्घाटन भएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नागरिकबाट कुशल प्रहरी अधिकृतको रूपमा संगठन तथा राष्ट्रको लागि महत्त्वपूर्ण योगदान दिन आग्रह गरे । अनुशासित, मर्यादित, लगनशील र धैर्यवान् भई उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उनले जोड दिए ।
अहिलेको बदलिँदो परिस्थितिमा ज्यादै चुनौतीपूर्ण रहेको बताउँदै उनले तालिमबाट प्राप्त ज्ञान सीप र कौशल व्यावसायिक प्रहरी जीवनमा आइपर्ने जस्तोसुकै कठिन परिस्थितिलाई पनि सामना गर्न प्रभावकारी हुने चर्चा गरे ।
प्रहरी महानिरीक्षक थापाले सो क्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निरीक्षण गरी उपस्थित प्रहरी कर्मचारीलाई समसामयिक विषयमा निर्देशन समेत दिएका थिए ।
सोही अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रतिष्ठान परिसरमा वृक्षरोपण समेत गरे ।