site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

‘पँजनी’ बाट एकैपटक ‘पब्लिक सर्भिस कमिसन’ फड्को मारेर २००८ सालमा जन्मिएको नेपालको लोक सेवा आयोग हिरक जयन्ती (७५औं वार्षिकोत्सव) मनाउँदासम्म पनि जनविश्वास नगुमाएको बिरलै संस्थामध्येको हो । यसबीच शासन व्यवस्था नै अनेकौंपटक बदलिए पनि लोक सेवा आयोगको मूल्य मान्तयता भने धेरै हदसम्म जोगिएकै छ ।

त्यसो त कहिले असल नियतबाट र कहिले बदनियत राखेर लोक सेवा आयोगलाई बेलाबखत निलम्बन पनि गरियो । पञ्चायतकालसम्म पनि ‘हुकुम प्रमाङ्गी’को हस्तक्षेप लोक सेवामा रही नै रह्यो । तैपनि बेलाबखत अन्तर्वार्तामा ‘सेटिङ’ हुनेगरेको हल्ला चले पनि अपवादबाहेक लोक सेवा आयोगको निष्पक्षतामा बितेका ७५ वर्षमा खासै प्रश्न उठेको छैन ।

विडम्बना, यस्तो निर्विवाद छनोट गर्ने संस्थाबाट छानिएको नेपालको कर्मचारीतन्र भने कहिल्यै जनमुखी र सराहनीय हुनसकेन । प्रायः निष्पक्ष  र खुला प्रतिस्पर्धात्मक विधिबाट छानिएका ‘योग्यतम’हरूमध्ये अधिकांश सेवा प्रवेश गरेपछि न इमानदार रहे न असल र कुशल नै देखिए । ‘राष्ट्रसेवक’ भनिने लोक सेवाले छानेका कर्मचारी अहिले राज्यका लागि बोझ बनेका छन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालको कर्मचारीतन्त्र विशेषगरी निजामती सेवाका कर्मचारीको अवगुणका लागि सबै दोष लोक सेवा आयोगलाई दिनु भने न्यायोचित हुदैन । राणा शासनको ‘चाकरी’ र ‘हुकुमी’ संस्कारबाट निजामती सेवालाई मुक्त गर्ने प्रयत्न नै भएन । पक्कै पनि यसको बढी दोष राणा शासनको अन्त्यपछिको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई नै जान्छ । 

संरचनामा परिवर्तन भए पनि राणा शासनको सामन्ती चाकरी मानसिकता कर्मचारीतन्त्रमा छ । नयाँ जोस र मान्यता लिएर सेवा प्रवेश गर्ने युवा लाग्छ कुनै रहस्यमय गुफामा पुग्छ । रातारात उसको ‘मानसिक चोला’ नै बदलिन्छ र यसले सामन्ती दम्भसहित नयाँ अवतार लिन्छ । 

अरू त अरू समता पछाडि पारिएका र राज्य संयन्त्रमा प्रतिनिधित्व नभएका समुदायको शासनमा न्यायपूर्ण सहभागिताका लागि अपनाइएको समावेशी सिद्धान्त लोक सेवा पनि चरितार्थ हुनसकेन । लोक सेवाको छनोटमा ‘योग्य’ ठहरिनेहरूमा अधिकांश ‘तरमारा’ वर्गकै प्रतिनिधि हुने गरेका छन् । 

हुनत, अहिलेको शिक्षा पद्धति पनि हुनेखाने घरमा जन्मनेलाई ‘अतिरिक्त लाभ’ हुने प्रकारको छ । अर्कातिर लोकसेवाले लिने परीक्षा पनि मूलतः लर्ड मेकलेकै मानसपुत्रहरू छानिने शैलीको छ । लोक सेवा आयोगमै पनि अधिकांश पूर्वकर्मचारी नै  नियुक्त गरिन्छन् । यसैले आयोगका पदाधिकारीले प्रशासन यन्त्रमा देखिएको दोष देख्न र आफूलाई जिम्मेवार ठान्न नसकेको हुनुपर्छ ।

लोक सेवा आयोगले छानेका अधिकांश ‘योग्य’हरू कर्तव्य सम्पादनका क्रममा ‘अयोग्य’ देखिएकाले अब यसको छनोट विधि र प्रक्रिया दुवैमा गम्भीर समीक्षा हुनुपर्छ । लोक सेवाबाट छानिएकाहरू अधिकांश उत्कृष्ट युवा किन भ्रष्ट, कामचोर र चापलुस हुन पुगे भन्ने प्रश्नको उत्तर गहन विमर्श तथा अध्ययनबाट खोजिनुपर्छ ।  

अहिलेको राजनीतिमा रहेको विकृति राजनीतिकर्मीले नदेखेजस्तै प्रशासन संयन्त्रको कमजोरी र आजको सन्दर्भमा कर्मचारी छनोट विधि, प्रक्रिया तथा मानसिकतामा रहेको त्रुटि कर्मचारीतन्त्रमा हुर्केकाहरूले देख्दैनन् । यसैले आयोगको आमूल कायाकल्पका लागि संस्कार र मानसिकताजन्य विकार एवं आग्रह मुक्त भएर काम गर्नसक्नेहरूलाई जिम्मा दिइनु आवश्यक हुन्छ ।

हिरक जयन्तीका अवसरमा आयोगका पदाधिकारीलगायत सबैमा बधाई एवं शुभकामना !
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्