प्रायः शासकहरूको ‘राष्ट्रवादी’ वा जातीय ठुल्याइँको दम्भका कारण युद्ध हुन्छ । युद्धबाट भने जनसाधारणले पुस्तौँसम्म पीडा भोग्नुपर्ने हुन्छ । विडम्बना, युद्धको विभीषिका सबैभन्दा बढी भोगेको यहुदी जाति र इजरायलले अहिले पनि युद्धमै भिडिरहनु परेको छ ।
यसपटक गत ९जुन १३० शुक्रबार इजरायलले इरानमाथि आक्रमण सुरु गरेको थियो । विगतमा यस्ता झडप युद्धमा परिणत हुनुभन्दा पहिले नै साम्य हुने गरे पनि यसपटक लगातार ५ दिनसम्म चलिसक्यो । क्षतिको वास्तविक विवरण त सार्वजनिक भएको छैन तर इरानको निकै ठूलो क्षति भएको अनुमान गरिएको छ ।
भौगोलिक सीमा नजोडिएको भए पनि इरानका शासकहरूले ‘इजरायलको अस्तित्व मेटाउने’ भन्दै धार्मिक कट्टरपन्थीहरूका साथै विभिन्न जातीय छापामार समूहहरूलाई सैन्य तथा आर्थिक सहयोग गर्दै आएको छ । इरानको सहयोगमा इजरायलमाथि आक्रमण गर्नेहरूमा हमास, हिजबुल्लाह, हुथी विद्रोहीलगायत छन् ।
इजरायल स्थापना भएसँगै त्यस भूभागमा बस्दै आएका प्यालेस्टाइनीहरू असन्तुष्ट भए । फलस्वरूप, प्यालेस्टाइनीहरूले इजरायलविरुद्ध सङ्घर्ष सुरु गरे । छिमेकी मुलुकहरूले ‘महाभारत’को कथामा अभिमन्युमाथि सात महारथीले आक्रमण गरेजस्तै इजरायलमाथि हमला गरेका थिए । तर, इजरायलीहरू अहिलेसम्मका सबैजसो युद्धमा विजयी हुँदैगए ।
सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी विद्रोही संगठन हमासले इजरायलमा भइरहेको संगीत महोत्सवमा एक्कासि आक्रमण गर्दा नागरिकहरू हताहत भए भने कतिलाई हमासले बन्दी बनाएर लग्यो । हमासले त्यसरी बन्दी बनाएर अपहरण गरेको नेपाली नागरिक विपिन जोशीलगायतका कतिपय गैरसैनिक व्यक्तिलाई अझसम्म पनि रिहा गरेको छैन ।
इजरायल विरोधी यस्ता क्रियाकलापमा इरानको साथ र समर्थन हुनेगरेको देखिएको छ । इरानले इजरायलप्रतिको शत्रुता लुकाउने गरेको पनि छैन । तैपनि यी दुई ‘शत्रु देश’बीच अहिले जति ठूलो मात्रामा भिडन्त भएको थिएन ।
इजरायलले इरानमाथि आक्रमण गर्न लागेको सूचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले नै सार्वजनिक गरिसकेको भए पनि इरानले त्यसलाई गम्भीरतापूर्वक लिएन । एकाएक तेहरानमा विस्फोट र हताहत भएपछि भने इरान सरकार झस्कियो र प्रत्याक्रमणमा उत्रियो । दुवै देश हवाई युद्धमा संलग्न छन् ।
इरानले अभेद्य कवच मानिएको ‘आइरन डोम’ भनिने इजरायलको हवाई सुरक्षा प्रणाली भेदन गरेको दाबी गरेको छ । इजरायलले इरानका उच्च सैनिक अधिकारी, आणविक वैज्ञानिकलगायतलाई हत्या गरेको र तेहरानको हवाई क्षेत्रमा नियन्त्रण कायम गरेको दाबी गरेको छ । यस क्रममा गैरसैनिक नागरिक पनि मारिएका छन् ।
इरानको आणविक कार्यक्रम वा इजरायलको हवाई सुरक्षाभन्दा विश्वले दुवै देशका गैरसैनिक नागरिकको हताहती विश्वको चिन्ताको विषय हुनुपर्ने हो । तर, अमेरिका यही समयमा इरानलाई कम्तीमा आणविक अश्त्र बनाउन नसक्ने अवस्थामा पुर्याउन चाहन्छ । इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनी पनि इजरायललाई ध्वस्त पार्ने रटानमा नै छन् ।
संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायले मध्यस्थता गर्नुपर्ने समय अहिले नै हो । इरानको आणविक क्षमता नियन्त्रण गर्न युद्ध होइन वार्ता गरिनुपर्छ भने इजरायलको अस्तित्व मेटाउने अधिकार कसैको पनि छैन । दुर्भाग्य, यसपटकको युद्धमा अन्तर्राष्ट्रिय समुदाय नै संवेदनहीन देखिएको छ ।
अमेरिका इजरायलको पक्षमा उभिनु अस्वाभाविक होइन । युरोप पनि ढिलोचाँडो इजरायलकै पक्षमा देखिनेछ । चीनले युद्धको विरोध गरेको छ तर इरानको समर्थनमा लडाइँमा संलग्न हुने सम्भावना छैन । रुस आफैँ युक्रेनसँगको युद्धमा अल्झेको छ र लाग्छ इरानका लागि अमेरिका र इजरायललाई चिड्याउन कोही पनि चाहँदैनन् ।
‘विनासर्त आत्मसमर्पण’ गर्न अमेरिकी राष्ट्रपतिले दिएको धम्की इरानले अस्वीकार गरिसकेको छ भने अमेरिका तथा पश्चिमी राष्ट्रहरूको सैनिक स्थलमा आक्रमण गर्ने धम्की दिएको छ । यस क्रममा बीचका मुलुकहरू कदाचित युद्धमा सामेल भए भने मध्यपूर्वमा भयावह अवस्था उत्पन्न हुनसक्छ ।
यसैले राजनीतिक वा धार्मिक नेताको सनकबाट विश्व युद्धको अवस्था उत्पन्न हुन नदिन अन्तर्राष्ट्रिय समुदायले यथाशीघ्र सक्रियता देखाउनुपर्छ । साथै, इजरायल र इरानका सामाजिक अगुवाहरूले पनि विश्व युद्धको अवस्था टार्नका लागि आआफ्ना देशका युद्ध पिपासु शासकहरूमाथि दबाब दिऊन् ।
नेपाल सधैँजस्तै शान्तिका पक्षमा तटस्थ तर सक्रिय रहनुपर्छ भने नेपाली नागरिकहरूको सुरक्षित उद्धारका लागि हरसम्भव उपाय अपनाउनुपर्छ । कामना गरौँ, थप अपूरणीय क्षति हुनुभन्दा पहले नै इरान र इजरायलका शासकहरू दम्भ छाडेर शान्ति कायम गर्न अग्रसर हुनेछन् ।