
काठमाडौं । नेपाल गल्फ आइकन डे–२०२५ को अवसरमा बाह्रखरी मिडियाले नेपालको गल्फलाई उचाइमा पुर्याउन आआफ्नो क्षेत्रबाट सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । नेपाल गल्फ एसोसिएसनसँगको सहकार्यमा बाह्रखरी मिडियाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल गल्फ एसोसिएसनका अध्यक्ष टासी घले, बाह्रखरी मिडियाका अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यलगायतले उनीहरूलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा सूर्य नेपाल प्रालि, दी हिमालयन टाइम्स, नम्बर वान एमेच्योर गल्फर सद्भाव आचार्य, महिला खेलाडीद्वय आरसिया बानु र सरिता श्री ज्ञवाली छन् ।
नेपालको कर्पोरेट गल्फलाई अघि बढाउन लामो समयदेखि योगदान पुर्याइरहेकाले सूर्य नेपाललाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा गल्फको विकासका लागि सूर्य नेपालको योगदान ऐतिहासिक रहेको चर्चा भएको थियो । सूर्य नेपालको योगदानप्रति गल्फ क्षेत्रका सबै व्यक्ति तथा संस्था नै आभारी रहेको आयोजकले बतायो ।
सूर्य नेपालको सहयोगकै कारण नेपालमा गल्फले लोकप्रियता हासिल गर्न सफल भएको आयोजकको विश्वास छ । सूर्य नेपालकै कारण नेपालले प्रिमियम पर्यटक भित्र्याइरहेको तथा नेपालभित्रैबाट अन्तर्राष्ट्रिय गल्फर उत्पादन गर्न सक्षम भएको बताइएको छ ।
त्यसैगरी, नेपालको गल्फलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन लामो समयदेखिको योगदान रहेको भन्दै दी हिमालयन टाइम्सलाई सम्मान गरिएको बाह्रखरी मिडियाले जनाएको छ । दी हिमालयन टाइम्सले नेपालको गल्फ र गल्फसम्बन्धी कार्यक्रमको प्रचारप्रसारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । गल्फको सम्भावनाका सम्बन्धमा जागरुकता बढाउन र नेपाली युवामाझ गल्फको ज्ञान बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले कदर गरिएको आयोजकले जनाएको छ ।
महिला गल्फलाई एउटा उचाइमा पुर्याउन सफल खेलाडीद्वय बानु र ज्ञवालीलाई पनि सोही कार्यक्रमका बीचमा संयुक्तरूपमा सम्मान गरिएको हो । उनीहरूले महिला गल्फ प्रतियोगिता आयोजना गरेर नेपालको गल्फलाई चिनाउन सफल भएको आयोजकको भनाइ छ ।
त्यसैगरी, कार्यक्रममा युवा गल्फर सद्भाव आचार्यलाई पनि सम्मान गरियो । सानै उमेरदेखि हासिल गरेको अविश्वसनीय उपलब्धिका कारण १९ वर्षीय युवा गल्फर सद्भाव नेपाली गल्फ पछ्याउनेहरूमाझ निकै चर्चित छन् ।
दैनिक आठ घण्टा प्रशिक्षणका निम्ति गोकर्ण गल्फ कोर्समा बिताउने सद्भावले पारिवारिक पृष्ठभूमि गल्फकै हुँदा अभिभावकबाट पनि साथ पाएका छन् । सद्भावले हालैमात्र नेपालमै सम्पन्न ११औँ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपमा १० स्ट्रोकको अग्रतासहित उपाधि जितेका थिए ।
एमेच्योरमा नेपालकै नम्बर वानमा आफूलाई स्थापित गराएका सद्भावलाई नेपाली गल्फलाई विश्वमाझ फैलाउन पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको आयोजकले जनाएको छ ।