
कथा लेखनका लागि भनेर अहिलेसम्म कुनै सर्वसम्मत विधि वा तरिका निस्किएको छैन । कथा कसरी लेख्ने भन्ने विषय कथाकारको प्रतिभा, सीप र उसको लेखन कला कस्तो छ भन्नेमा निर्भर गर्छ । मूलतः यो व्यक्तिको प्रतिभामा भर पर्ने कुरा हो ।
कथा कसरी लेख्नेभन्दा पनि एउटा कथाकारले कथा कसरी लेख्छ भन्ने बुझ्नुपर्छ । विश्वप्रसिद्ध कथाहरू कसरी लेखे होलान् भनेर अनुमान भने गर्न सकिन्छ ।
कथा लेख्नका लागि मूलतः एउटा विषय र विचार आवश्यक हुन्छ । अपरिहार्य हुन्छ । विषय र विचार नभई कथा हुँदैन । यो नै महत्त्वपूर्ण तत्त्व हो कथाका लागि ।
कथाकारले विषय वा विचार कसरी ग्रहण गर्ने भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । हामीले देखेभोगेका कुराबाट एउटा विचार वा विषय निर्माण हुनसक्छ । यसबाट लेखकले एउटा सामान्य अवधारणा बनाउन सक्छ ।
मानौँ, कुनै समाचार आयो र त्यसले छोयो भने त्यसलाई पनि कथाको विचार वा विषय बनाउन सकिन्छ । लेखकको मनमा एउटा विचार प्रकट हुनैपर्छ, जसले उसलाई कथा लेख्न बाध्य बनाउँछ ।
उदाहरणका रूपमा गुरुप्रसाद मैनालीलाई लिऊँ । उनले ‘परालको आगो’ कथा कसरी लेखे होलान् ! उनले कतै श्रीमान्श्रीमतीबीचको झगडा देखे । उनले चामे र गौँथलीजस्ता पात्र भेट्टाए । ‘ए ! यो विषयमा त एउटा कथा हुने रहेछ’ भन्ने उनलाई लाग्यो होला र उनले ‘परालको आगो’ कथा लेखे होलान् ।
अब यसको विषय भनेको श्रीमान्श्रीमतीको सम्बन्ध भयो । त्यसको विचार पक्ष के हो भने, दाम्पत्य जीवनमा झगडा हुन्छ । तर, त्यो झगडा भनेको परालको आगोजस्तो क्षणिक हुन्छ ।
मलाई के लाग्छ भने, कथाको विचारलाई कथाको अन्तिममा पुग्दा कथाले प्रतिपादन गर्यो कि गरेन, विचारको प्रतिपादन कथामा ठिकसँग भयो वा भएन भन्ने विषयमा कथाकारले बारम्बार ध्यान पुर्याइरहनुपर्छ ।
त्यसै कथा लेख्छु भनेर हुँदैन । कथा लेख्नका लागि कथा के हो भन्ने कुरा पनि बुझ्नुपर्छ । नभए त्यो कथा हुँदैन । कथा लेखनका बारेमा जान्नु भनेको कथा लेख्न केके आवश्यक तत्त्व आवश्यक पर्छ भन्ने जान्नु पनि हो । अर्थात्, लेखकमा कथा लेखनको सामान्य सैद्धान्तिक ज्ञान चाहिन्छ नै ।
कथा लेख्नु भनेको कथाको विषयवस्तु राम्ररी, क्रमबद्ध सिलसिलेवार रूपमा राख्नु पनि हो, जसलाई कथानक भनिन्छ । कथानकलाई सञ्चालन गर्नका लागि पात्रहरू हुन्छन् । ती पात्रहरु खास ठाउँका, खास समय र खास प्रवृत्तिका हुन्छन् ।
यसरी कथानक, पात्र र परिवेश कथाका लागि अति आवश्यक मानिन्छ । त्यसबाहेक कथालाई प्रस्तुत गर्ने समाख्याता अर्थात् न्यारेटर पनि चाहिन्छ, जसले कथा भन्छ । कहिले अरू कसैले कथा भन्छ त कहिले पात्रले आफ्नो कथा आफैँ पनि भन्न सक्छ । यसरी कथामा एउटा कथावाचक चाहिन्छ नै ।
कथामा भाषा, शैली र शिल्पको कुरा पनि आउँछ । भाषा, शैली र शिल्प नजानीकन कथा लेख्नै सकिन्न । त्यस्तै, कथाको उद्देश्य पनि हुन्छ । विनाउद्देश्य कथा हुँदैन ।
यी भनेका कथा लेखनका आधारहरू हुन् । यो नभई कथा बन्दैन, कथा लेख्न सकिँदैन ।
कथा बनाउन कथाकारसँग विषयवस्तु, सूत्र, पात्र, परिवेश मात्रै भएर हुँदैन, त्यसलाई प्रस्तुत गर्ने तरिका पनि कथाकारमा हुनैपर्छ ।
कथा प्रस्तुत गर्ने तरिकामा सबैभन्दा पहिले त आरम्भ आउँछ, मानौँ कुनै समस्यालाई कथामा प्रस्तुत गर्न थालियो रे, त्यो समस्याको आरम्भबाटै कथा सुरु हुन्छ ।
त्यसपछि समस्याको विकास हुन्छ । विकास भनेको कथाको समस्यामा विभिन्न संकटहरू थपिँदै जाने र कथाको स्वरूप विकसित हुँदै जाने तत्त्व हो । र, पछि गएर त्यो बिस्तारै गएर उत्कर्षमा पुग्छ, जसलाई क्लाइमेक्स भनिन्छ ।
कुनै पनि कुरा उत्कर्षमा पुगेपछि झर्छ । त्यसरी नै कथालाई अन्त्यतिर पुर्याउनुपर्छ । यसरी एउटा कथा आरम्भबाट विकास, मध्यभाग र उत्कर्षमा पुग्दै समापनमा पुग्छ । यो सामान्य ज्ञान एउटा कथाकारमा अनिवार्य हुनैपर्छ ।
अर्को कुरा, कथानकको ढाँचा पनि हो । जोसुकै लेखकले पनि ढाँचाको पत्तो नलगाई कथा लेख्न हुँदैन । कथानकको ढाँचा कि त सुखान्त हुन्छ कि त दुःखान्त हुन्छ, कि त व्यंग्यात्मक हुन्छ । यी तीन ढाँचाबाहेक अरू ढाँचा कथामा हुँदैन ।
एउटा कथाकारले मैले कस्तो कथा लेख्ने भनेर पहिले नै विचार पुर्याउनुपर्छ । म सुखान्त कथा लेख्छु वा म दुःखान्त लेख्छु वा व्यंग्यात्मक लेख्छु । त्यो निष्कर्षमा कथाकार पहिले नै पुग्नुपर्छ ।
मानौँ, दुःखान्त ढाँचाको कथा लेख्ने हो भने कथाकारले सोहीअनुरूपको विचार, पात्र, परिवेशको सिर्जना गर्दै त्यसमा द्वन्द्वको सिर्जना गर्नुपर्छ । त्यो द्वन्द्व बढ्दै बढ्दै गएर उत्कर्षमा पुग्छ र अन्ततः तलतिर झर्दछ ।
अब, कथानकमा उठाइएको द्वन्द्वको समाधान भयो भने त्यो सुखान्त कथामा परिणत हुन्छ भने समाधान हुन सकेन भने त्यो दुःखान्त हुन्छ । सोही कथालाई मध्यमार्गी दृष्टिकोणका साथ व्यंग्यात्मक रूपमा टुंग्याउने हो भने त्यो अर्कै किसिमको कथा बन्न जान्छ ।
त्यसैले कथा लेख्ने कथाकारले ढाँचालाई महत्त्वपूर्ण रूपमा लिनुपर्छ । ढाँचालाई विचार नगर्ने हो भने कथा लेख्न सकिँदैन ।
व्यंग्यात्मक कथामा विम्ब, प्रतीकहरूको प्रयोग, अन्युक्तिको प्रयोग अधिक गरिएको हुन्छ । अन्युक्ति भनेको कुरा एउटाको गर्ने तर प्रतिपादन अर्कै कुराको हुने । त्यसलाई अन्युक्ति भनिन्छ ।
मोहनराज शर्माले ‘पंखावती’ शीर्षकको कथा लेख्नुभएको छ । त्यस कथामा अन्युक्तिको प्रयोग भएको छ । त्यस कथामा एउटा कुरा भनिएको छ, तर त्यसले अर्थ अर्कै दिइरहेको पाइन्छ । त्यो कथालाई सुखान्त वा दुःखान्त केही भन्न सकिँदैन ।
उता, गुरुप्रसाद मैनालीको ‘बिदा’ कथा दुःखान्त कथा हो । ‘परालको आगो’ भने सुखान्त कथा हो । तसर्थ कथाका यी आधारभूत ढाँचाहरूबारे एउटा कथाकारले जान्नु नै पर्छ । ढाँचा नजानीकन कथा सिर्जना गर्न सकिन्न ।
कथा जु्न ढाँचामा लेखियोस्, पुरानाले लेखून् वा नयाँले लेखून्, प्रयोगवादीले लेखून् वा प्रयोग गर्न नजान्नेले लेखून्, तर यी ढाँचालाई नजानीकन, नबुझीकन कथा लेख्न सकिँदैन ।
हामीकहाँ विषय अथाह छन्, तर ती विषयहरूलाई एउटा ढाँचामा कथाकारले बुन्न जान्नैपर्छ ।
अर्को कुरा के भने, कथालाई प्रभावकारी बनाउने अनेक तरिका छन् । कहिले विषय जस्तो छ त्यस्तै प्रस्तुत गर्न सकियो । कहिले वर्तमानबाट भूततिर जान सकियो वा भूततिरबाट वर्तमानतिर पनि आउन सकियो ।
त्यस्तै, कथामा द्वन्द्वलाई कसरी सिर्जना गर्नेतर्फ पनि कथाकारले विशेष ध्यान पुर्याउनुपर्छ । द्वन्द्वलाई कसरी उत्कर्षमा पुर्याएर समाधानको विन्दुमा ल्याउने, त्यो तरिका पनि कथाकारले जान्नुपर्छ ।
पात्र र चरित्र चित्रण कथाको महत्त्वपूर्ण पक्ष हो । कथाको पात्रलाई कथाकारले जीवन्त रूपमा बुझ्नुपर्छ । पात्रको आनीबानी, बोलीचाली, रूपरङ, हाउभाउ सबैसबैलाई गहिरो गरी बुझ्नुपर्छ । यदि, त्यो नबुझेर कथा लेखिन्छ भने पात्र प्रभावकारी र जीवन्त हुन सक्दैन ।
पात्रको सिर्जनामा कथाकारले ध्यान पुर्याउनैपर्छ, जसले पाठकको मस्तिष्कलाई झङ्कृत गरोस् । पाठकले कालान्तरसम्म त्यो पात्र सम्झिरहोस् भन्ने दृष्टिकोणबाट कथाकारले पात्रलाई प्रस्तुत गर्न सक्नुपर्छ ।
उदाहरणका लागि ‘महाभारत’लाई लिऊँ । महाभारतमा हजारौँ पात्र छन्, र सबै उत्तिकै प्रभावशाली र स्मरणीय छन् । तर, अहिलेका कथाका कतिपय पात्र पढेको केही समयपछि नै बिर्सिइन्छ ।
सानो भूमिका भएका बर्बरिकलाई समेत मानिसले बिर्सिंदैनन् महाभारत पढ्दा । हो, कथाका पात्रलाई त्यस्तै शक्तिशाली रूपमा कथाकारले प्रस्तुत गर्न सक्नुपर्दछ ।
यसले के देखाउँछ भने, चरित्र चित्रणतर्फ एउटा कथाकारले ध्यान पुर्याउनुपर्छ । पात्रको चरित्रअनुकूल पनि हुनसक्छ, प्रतिकूल पनि हुनसक्छ । कथाको पात्रलाई शक्तिशाली रूपमा उसको वैयक्तिक विशेषतामा जोड दिँदै लेख्नुपर्छ ।
कथामा वर्गीय चरित्र चित्रण गर्न जति सजिलो छ, वैयक्तिक चरित्र चित्रण त्यति नै गाह्रो छ । त्यो कथाकारलाई सबैभन्दा शक्तिशाली मानिन्छ, जुन कथाकारसँग वर्गीय विशेषता र वैयक्तिक विशेषताको चरित्र निर्माण गर्ने क्षमता हुन्छ ।
त्यत्तिकै म कथा लेख्छु भनेर मानिसलाई बुझ्दै नबुझ्ने, त्यसका विशेषता बुझ्दै नबुझेर कथा लेखिँदैन । त्यस्तो कथा कथा हुँदैन ।
कथालाई स्वाभाविक बनाउन कथाको परिवेशले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । जस्तो, सुनमाथि हिरा राखिएको छ भने त्यो मूल्यवान् मानिन्छ । तर, त्यही सुनलाई गोबरमाथि राखिदिने हो भने त्यहाँ न सुनको महत्त्व बढ्छ न गोबरकै ।
तसर्थ कथाकारले परिवेश निर्माण राम्रोसँग नगरी जस्तोसुकै राम्रो पात्र खडा गरे पनि त्यसको खासै अर्थ रहँदैन । त्यसैले समय र परिवेशसँग मिल्ने कथावस्तु र पात्र आवश्यक हुन्छ ।
त्यस्तै, कथाकारको दृष्टिकोण, भिजन पनि महत्त्वपूर्ण हुन्छ, जसले कथालाई त्यसैअनुरूप प्रस्तुत गरेको हुन्छ । जस्तो, एउटै विषयलाई फरकफरक कथाकारले फरकफरक रूपमा प्रस्तुत गर्न सक्छन् । त्यो कथाकारको दृष्टिकोणमा भर पर्ने कुरा हो ।
कथाकारले कथाको सीमा पनि बुझ्नुपर्छ । आयाम बुझेर मात्रै कथा लेख्नुपर्छ । आफ्नो विधागत वैशिष्टलाई कायम गर्ने आयाम कथाकारमा चाहिन्छ नै ।
(समालोचक प्रा. डा. कोइरालासँग गरिएको कुराकानीमा आधारित ।)