site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानका आणविक केन्द्रमा अमेरिकाले कस्ता बम खसाल्यो ? अब के होला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी युद्धविमानले इरानका तीनवटा आणविक स्थलमा बमबारी गरेको बताएका छन् । तीनमध्ये एउटा फोर्डो थियो, जुन इरानको आणविक महत्त्वाकांक्षाका लागि अत्यन्त महत्त्वपूर्ण युरेनियम सम्प्रवर्धन केन्द्र हो । फोर्डो दुर्गम पहाडी क्षेत्रमा बनाइएको भूमिगत केन्द्र हो । फोर्डोमा पुगेको क्षतिको यथार्थ विवरण अझै आउन बाँकी छ ।

इजरायली अधिकारीहरूले आक्रमणको योजना बनाउन अमेरिकासँग पूर्ण समन्वय रहेको बताएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार, शनिबार अमेरिकाले कूटनीतिक च्यानलमार्फत इरानलाई सम्पर्क गरी हवाई आक्रमणमात्रै गर्ने र सत्ता परिवर्तन गर्ने कुनै योजना नभएको जानकारी दिएको थियो ।

इरानले मध्यपूर्वका अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेर प्रतिशोध लिन सक्ने चेतावनी दिइसकेको छ । इरानी अधिकारीहरूले यसअघि नै अमेरिकी आक्रमणले क्षेत्रीय युद्ध निम्त्याउने र उनीहरू प्रतिशोधमा उत्रिने बताएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कहाँ र कस्ता हतियार प्रयोग गरिए ?
अमेरिकाले फोर्डो, नटान्ज र इस्फाहानस्थित आणविक संरचनालाई निसाना बनाएको बताएको छ । फोर्डो राजधानी तेहरानको दक्षिणमा पहाडमा अवस्थित छ । फोर्डो बेलायत र फ्रान्सलाई जोड्ने च्यानल टनेलभन्दा गहिरो भूमिगत रहेको मानिन्छ ।

यसको गहिराइका कारण इजरायली हतियार त्यहाँ पुग्न नसक्ने ठानिन्छ । यस्ता संरचनालाई भेट्न अमेरिकासँग मात्र आवश्यक क्षमतायुक्त बंकर बस्टर बम रहेको मानिन्छ ।

यस विशेष बमलाई जीबीय–५७ः म्यासिभ अर्डनान्स पेनेट्रेटर भनिन्छ । जसको तौल १३ हजार किलोग्राम (३०,००० पाउन्ड) हुन्छ । विज्ञहरूका अनुसार, यसले १८ मिटर कंक्रिट वा ६१ मिटर माटो छेडेर विस्फोट गर्न सक्छ । फोर्डोका सुरुङ ८०–९० मिटर गहिराइमा रहेको अनुमान गरिएकाले जीबीयू–५७ः म्यासिभ अर्डनान्स पेनेट्रेटरको पूर्ण सफलताको ग्यारेन्टी छैन, तर त्यहाँ पुग्न सक्ने एकमात्र बम भने यही हो ।

अमेरिकी मिडिया रिपोर्टहरूका अनुसार, यस हमलामा यही बम प्रयोग गरिएको थियो ।

जमिनमा असर
अमेरिकाको आक्रमणले इरानको आणविक केन्द्रमा पुर्‍याएक क्षतिबारे अझै स्पष्ट भइसकेको छैन । इरानको सरकारी प्रसारकका उपराजनीतिक निर्देशक हसन अबेदिनीका अनुसार, ती स्थलहरू केही समयअगाडि नै खाली गरिएकाले ठूलो क्षति भएको छैन ।

तर, ट्रम्पले आफ्नो टेलिभिजन सम्बोधनमा ती सबै सुविधा पूर्णरूपमा नष्ट गरिएको दाबी गरेका छन् ।

पूर्वअमेरिकी सहायक विदेशमन्त्री मार्क किम्मिट भने बीबीसी न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, “यसलाई सधैँका लागि नष्ट भएको भन्न कुनै आधार छैन ।”

इरानको सम्भावित जवाफ
विज्ञहरूका अनुसार, सैन्य अड्डाहरूमा इजरायलले गरेको आक्रमण र लेबनान, सिरिया तथा गाजास्थित क्षेत्रीय प्रोक्सीहरूको क्षतिले इरानलाई कमजोर बनाएको भए पनि उसमा अझै गम्भीर प्रतिघात गर्ने क्षमता छ ।

इरानी अधिकारीहरूले अमेरिकालाई द्वन्द्वमा संलग्न नहुन चेतावनी दिँदै क्षेत्रीय युद्धको जोखिम र अपूरणीय क्षतिको सम्भावना औँल्याएका छन् ।

इरानले प्रतिशोधमा क्षेत्रका अमेरिकी अड्डाहरूलाई निसाना बनाउने चेतावनी दिएको छ । अमेरिका मध्यपूर्वमा कम्तीमा १९ स्थानमा सैन्य अड्डा सञ्चालन गर्छ । जसमा बहराइन, इजिप्ट, इराक, जोर्डन, कुवेत, कतार, साउदी अरेबिया र यूएई पर्छन् ।

इरानका लागि सबैभन्दा स्पष्ट लक्ष्य बहराइनको मिना सल्मानमा अवस्थित अमेरिकी पाँचौँ नौसेना फ्लिट मुख्यालय हुन सक्छ । यसले पर्सियन खाडी र हिन्द महासागरलाई जोड्ने स्ट्रेट अफ होर्मुजलाई समेत निसाना बनाउन सक्छ ।

इरानले अमेरिकालाई सहयोग गर्ने छिमेकी देशहरूका संरचनालाई पनि निसाना बनाउन सक्छ । जसले द्वन्द्वलाई सम्पूर्ण क्षेत्रभर फैलाउने जोखिम निम्त्याउँछ ।

के ट्रम्पलाई युद्धका लागि कंग्रेसको स्वीकृति चाहिन्छ ?
अमेरिकी कानुनअनुसार, राष्ट्रपतिसँग एक्लै युद्ध घोषणा गर्ने अधिकार छैन । त्यो अधिकार संसद् निर्वाचित कंग्रेस प्रतिनिधि र सिनेटरहरूमा मात्र सीमित छ ।

यद्यपि, राष्ट्रपतिले अमेरिकी सशस्त्र बलका कमान्डर–इन–चीफको रूपमा युद्धको औपचारिक घोषणा नगरी पनि सैन्य अपरेसन सञ्चालन गर्न सक्छन् ।

जस्तै, २०१७ मा ट्रम्पले सिरियाको असद सरकारविरुद्ध हमला गर्दा कांग्रेसको पूर्वस्वीकृति लिएका थिएनन् । उनले यसलाई राष्ट्रिय सुरक्षा र मानवीय कारणको हवाला दिँदै एकपक्षीय निर्णयमा आधारित बनाए ।

केही सांसदहरूले हाल ट्रम्पको इरानमाथिको आक्रमण अधिकारलाई सीमित गर्न युद्धसम्बन्धी प्रस्ताव संसद्‌मा दर्ता गरिसकेका छन् । यद्यपि, त्यस्ता प्रस्ताव पारित हुन हप्तौँ लाग्न सक्छ र बहुसंख्यक अवस्थामा तिनको प्रभाव प्रतीकात्मकमात्रै हुन्छ ।

बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्