site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानमाथि आक्रमण गरेर ट्रम्पले खेले ‘जुवा’ : देशभित्र र बाहिर दुवैतर्फ जोखिम

काठमाडौं । गएको जनवरीमा शान्तिको पहलकर्ता बन्ने वाचा गर्दै ह्वाइट हाउस फर्किएका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायलबीचको तनावपूर्ण द्वन्द्वमा अमेरिकालाई प्रवेश गराउने नाटकीय कदम चालेका छन् ।

पदभार ग्रहण गरेदेखि ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापनाभन्दा पनि युद्धको सम्भावना बढाएको देखिन्छ । उक्त क्षेत्रमा हाल ठूलो युद्धको खतरा छ । र, त्यसमा अमेरिका स्वयं सक्रिय रूपमा संलग्न भएको छ ।

शनिबार राति ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्धको कारबाहीलाई ‘असाधारण सफलता’ भनेका छन् । सम्बोधनभन्दा दुई घण्टाअघि सामाजिक सञ्जालमार्फत अमेरिकी सेनाले इरानका तीन आणविक लक्ष्यमा आक्रमण गरिएको जानकारी दिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो कदमले इरानलाई आणविक शक्ति बन्ने बाटोबाट रोकेर दीर्घकालीन शान्तिको ढोका खोल्ने ट्रम्पले विश्वास व्यक्त गरे । इरानले भने उसको अत्यधिक सुरक्षित फोर्डो आणविक केन्द्रमा सामान्य क्षति मात्र भएको जनाएको छ । कुन पक्षको दाबी यथार्थ भन्ने स्पष्ट छैन ।

उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेग्सेथलाई छेउमा राखेर ट्रम्पले इरानलाई चेतावनी दिए, “यदि, उनीहरूले आफ्नो आणविक कार्यक्रम नत्यागे भविष्यका आक्रमण अझ भयावह हुनेछन् ।”

ट्रम्पले अगाडि भने, “अझै धेरै निसाना बाँकी छन् । अमेरिकाले तीमाथि गति, सटीक र कौशलका साथ कारबाही गर्नेछ ।”

तर, राष्ट्रपतिको आत्मविश्वासका बाबजुद इरानमा निरन्तर अमेरिकी सैन्य संलग्नता अमेरिका, क्षेत्रीय र विश्व सुरक्षाका निम्ति सबैभन्दा खराब परिदृश्य हुनसक्छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व पहिल्यै खतराको सँघारमा रहेको उल्लेख गरेका छन् । अमेरिकाको निर्णयले अराजकतामा रूपान्तरण हुने चक्र सुरु गर्न सक्ने उनले चेतावनी दिएका छन् ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले आक्रमण गरेको अवस्थामा कडा जवाफ दिने चेतावनी यसअघि नै दिइसकेका छन् । इरानले प्रतिशोधमा आक्रमण गरे अमेरिकी पक्ष जवाफ दिन बाध्य हुनसक्छ ।

दुई हप्ता दुई दिनजस्तै भयो
हप्ताको सुरुमा ट्रम्पले इरानले बिनासर्त आत्मसमर्पण गर्नुपर्ने भनाइ सार्वजनिक गरेका थिए । यसले उनलाई पछाडि हट्न गाह्रो बनाएको थियो । इरानले पनि धम्कीपूर्ण प्रतिक्रियाबाट आफूलाई त्यस्तै परिस्थितिमा पुर्‍यायो ।

युद्ध यस्तै गरी सुरु हुन्छ ।  र, नियन्त्रण वा कल्पनाभन्दा बाहिर विस्तार हुनसक्छ ।

बिहीबार ट्रम्पले इरानलाई दुई हप्ताको समयसीमा दिएका थिए । तर, केवल दुई दिनमै शनिबार राति उनले कारबाहीको घोषणा गरे ।

के दुई हप्ताको समयसीमा छलकपट थियो ? के इरानलाई झुटो सुरक्षा महसुस गराउने रणनीति थियो ? वा ट्रम्पले नियुक्त गरेका शान्ति मध्यस्थकर्ता स्टिभ विटकफको नेतृत्वमा भएको पर्दापछाडिको वार्ता असफल भयो ?

आक्रमणपछि तत्काल स्थिति स्पष्ट छैन । तर, ट्रम्पले सामाजिक सञ्जाल र टेलिभिजन सम्बोधनमा आफूले शान्तिको ढोका खोल्ने प्रयास गरेको बताएका छन् ।

यद्यपि, यो अत्यधिक आशावादी दृष्टिकोण हुनसक्छ । इजरायलीले इरानी सैन्य क्षमतामा प्रहार गरे पनि इरानसँग अझै पर्याप्त हतियार छन् ।

अवस्था चाँडै जटिल बन्न सक्छ
अब प्रश्न छ, इरानले आफ्ना तीन मुख्य लक्ष्यमध्ये फोर्डोमा गरिएको आक्रमणको जवाफ कसरी दिनेछ ?

ट्रम्पलाई आशा छ कि यी आक्रमणपश्चात् इरानमाथि वार्ताका निम्ति दबाब बढ्नेछ । तर, इजरायली आक्रमणका बेला वार्तामा नउत्रिएको राष्ट्र अमेरिकी बमवर्षापछि संवादमा सहजै आउने सम्भावना न्यून छ ।

ट्रम्पको कारबाही एकपटकको ‘सफल’ घटना मात्र हो भने उनले राजनीतिक जोखिम व्यवस्थापन गर्न सक्नेछन् । तर, त्यसो नभए दोहोरिने आक्रमणको दबाब वा न्यून सैन्य उपलब्धिको बदलामा ठूलो राजनीतिक क्षतिको सामना गर्नुपर्नेछ ।

‘शान्तिका पहलकर्ता’ राष्ट्रपति र राजनीतिक प्रतिक्रियाको जोखिम
यो जोखिमसँगै आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय सुरक्षाका गम्भीर प्रश्न छ । इरानमाथिको अमेरिकी आक्रमणको सम्भावनाले डेमोर्क्र्याट मात्र होइन, ट्रम्पकै ‘अमेरिका फर्स्ट’ आन्दोलनभित्रबाट पनि आलोचना निम्त्याएको छ ।

उनले आफ्ना तीन नजिकका सल्लाहकारसँगै राष्ट्रका नाममा सम्बोधन गर्नु असामान्य निर्णय थियो । त्यसबाट पार्टीभित्रको एकताको सन्देश दिन खोजिएको देखिन्छ ।

विशेष गरी जेडी भान्स, जो संयमित विदेश नीतिका पक्षधर हुन् — ले हालै सामाजिक सञ्जालमा ट्रम्प अझै हस्तक्षेपविरोधी भएको र उनलाई विश्वास गर्नुपर्ने बताएका थिए ।

आक्रमण एकल घटना रहन्छ भने ट्रम्पले आफ्ना समर्थकमाझ एकता कायम राख्न सक्नेछन् । तर, अमेरिका ठूलो द्वन्द्वमा तानिने सुरुआत भए उनले आफ्नै समूहभित्र विरोधको सामना गर्नुपर्ने हुनसक्छ ।

शनिबारको आक्रमण पहिलो कार्यकालमा नयाँ युद्ध नथालेकामा गर्व र चुनावी अभियानमा पूर्वराष्ट्रपतिहरूको हस्तक्षेप नीतिको आलोचना गर्ने ट्रम्पका निम्ति आक्रामक कदम हो । ट्रम्पले आफ्नो चाल चलिसके । अब यो कहाँ पुग्छ भन्ने उनको नियन्त्रणमा मात्र छैन । बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्