
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्तिशाली आयोग बनाएर २०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ दोलखा–काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले देशले विश्वास गरेको व्यक्तिको नेतृत्वमा शक्तिशाली छानबिन आयोग बनाएर सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।
छानबिन गर्दा जोजो परे पनि स्वीकार गर्ने बताएर कांग्रेसले भन्न सकेमात्रै अहिलेको पुस्ताले कांग्रेसलाई विश्वास गर्ने उनको भनाइ छ । थापाले अहिलेको पुस्ताको गुनासोलाई सम्बोधन नगरेसम्म उनीहरूबीच जान नसक्ने धारणा राखे ।
अर्को प्रसंगमा उनले जुनसुकै कुरामा चित्त नबुझे पनि अब उपरान्त विश्वविद्यालयमा तालाबन्दी नगर्ने, कालोमोसो नदल्ने, तोडफोड नगर्ने संकल्प नेविसंघले गर्नुपर्ने उल्लेख गरे ।
थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र नयाँ दृष्टिकोण खोजिरहेको बताए । अबको निर्वाचनमा नयाँ पुस्ता नै निर्णायक शक्ति रहेकाले उनीहरूको भावनालाई बुझ्दै पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ ।