अनिच्छा र द्विविधा देखाइरहेको संयुक्त राज्य अमेरिका अन्ततः इजरायल-इरान युद्धमा होमियो । इरानको आणविक केन्द्रमा शनिवार राति अमेरिकाले ६ वटा शक्तिशाली बम प्रहार गरेर युद्धमा प्रत्यक्ष संलग्न भएको छ ।
अमेरिकी बमबाट इरानको परमाणु केन्द्रमा कति क्षति भयो भन्ने भरपद्खो विवरण स्पष्टरूपमा सार्वजनिक भइसकेको छैन । तर, इजरायल-इरान युद्ध कम्तीमा मध्यपूर्व भर फैलने आशङ्का भने बढ्दै गएको छ ।
इजरायल र खाडी क्षेत्र नेपालीको वैदेशिक रोजगारको मुख्य गन्तव्यसमेत भएकाले युद्धप्रति नेपालमा पनि चासो र चिन्ता बढेको छ । वैदेशिक विशेषगरी रोजगारीका लागि त्यस क्षेत्रमा जानेहरूको परिवार बढी नै चिन्तित छन् ।
नेपाल सरकारले इरानमा रोकिएका नेपालीको उद्धारका लागि भारतसँग सहयोग मागेको र इजरायलबाट फर्कन चाहनेको विवरण सङ्कलन सुरु गरेको समाचार सार्वजनिक भएको छ । सरकारले देखाएको सक्रियता सराहनीय छ ।
युद्ध विस्तार भयो र लामो समय चल्यो भने सरकारले अहिले देखाएको जति चासोले मात्र पुग्दैन । विशेषगरी इजरायलबाट फर्कन चाहनेको सङ्ख्या निकै धेरै हुनसक्छ भने खाडीका अरू मुलुकबाट पनि नेपाल फर्कन खोज्नेहरू पक्कै बढ्नेछन् ।
यसैले बेलैमा तयारी नगरे आगामी दिनमा नेपाललाई आसन्न सङ्कटको सामना गर्न सजिलो हुनेछैन । तर, नेपालको राज्य संयन्त्रमा भने सङ्कटका समयमा पनि निवेदन पर्खेर बस्ने राणाकालीन मानसिकता अझै बलियो छ ।
रैतीको घरमा आगलागी भएको बिन्ती सुनेपछि कुनै राणा शासकले 'कुवा खन्ने' हुकुम प्रमाङ्गी गरेका थिए रे ! शासकीय संरचनामा जति परिवर्तन भएको भए पनि नेपालको राज्य संयन्त्र विशेषगरी निजामती कर्मचारीको मानसिकता अझै त्यस्तै छ ।
आसन्न सङ्कट भने आगो लागेपछि कुवा खन्ने शैलीले सम्बोधन गर्न सकिँदैन । राज्यका स्वदेश र विदेशमा रहेका सबै संयन्त्रमा कार्यरत कर्मचारीलाई पूर्वक्रियाशील बनाउनु जरुरी हुन्छ । यस्तै, राजनीतिक नेतृत्वले पनि बेलैमा सुझबुझ र संवेदनशीलता देखाउनु जरुरी हुन्छ ।
कामना गरौँ, इजरायल-इरानबीच छिटै युद्धविराम होस् र कसैलाई पनि 'उद्धार' गर्न नपरोस् । परन्तु, हामीले खोजेजस्तै हुन्छ भन्ने त छैन । कदाचित् युद्ध चर्कियो र व्यापक सङ्ख्यामा उद्धार गर्नुपर्यो भने त राज्य तयार अवस्थामा रहनुपर्यो नि !
यसैले नेपाल सरकार सबैभन्दा खराब परिस्थितिको सामना गर्नसमेत तयार अवस्थामा रहनुपर्छ । युद्धस्तरमा उद्धार योजना बनाएर विकल्पहरू तयार राखियोस् । विशेषगरी स्थानीय नेपाली समुदायसँग निरन्तर सम्पर्क र संवादमा रहेर सङ्कट आए त्यसको सामना गरियोस् ।