
काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) गठबन्धनका सहयोगीले आइतबार स्पेनलाई कम खर्च गर्न अनुमति दिने विषयमा सहमति गरेका छन् । उनीहरू हरेक सदस्य राष्ट्रले जीडीपीको ५ प्रतिशत नेटोको रक्षा खर्च व्यहोर्ने लक्ष्य निर्धारण गर्न सहमत भएका छन् ।
नेटोको हरेक सदस्य राष्ट्रले जीडीपीको ५ प्रतिशत रक्षा खर्च व्यहोर्नुपर्ने माग मूल रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उठाएका थिए । स्पेनले बिहीबार अन्तिम मिनेटमा जटिलता थपेको थियो । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले ५ प्रतिशत रक्षा खर्च व्यहोर्नुपर्ने प्रवधानमा आफ्नो देशलाई छुट दिनुपर्ने माग गरका थिए ।
नेटो गठबन्धनमा यसअघि २ प्रतिशत जीडीपी मात्र यसको रक्षा खर्चमा योगदान दिनुपर्ने व्यवस्था थियो । त्यसैले ५ प्रतिशतको माग पूरा गर्न स्पेनलाई कठिनाइ भएको थियो ।
स्पेनलाई मनाउन नेटोका नेताले ‘हामी प्रतिबद्ध छौँ’ को सट्टा ‘सहयोगीहरू प्रतिबद्ध छन्’ भन्ने वाक्यांश परिवर्तन गरिएको एक अधिकारीले बताए ।
नयाँ प्रावधानले स्पेनलाई जुन ५ मा नेटो गठबन्धनका रक्षामन्त्रीले अनुमोदन गरेको अद्यावधिक लक्ष्य पूरा गर्ने गरी रक्षा खर्च व्यहोर्ने विषयमा लचकता प्रदान गर्नेछ ।
सान्चेजले स्पेनले आफ्नो जीडीपीको २.१ प्रतिशत रक्षा खर्च गर्ने बताएका थिए ।