site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतको रुद्रपुरमा बन्धक बनाइएका २२ नेपालीको उद्धार, कुल संख्या ५७ पुग्यो

काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित रुद्रपुरमा बन्धक बनाइएका २२ जना नेपालीको उद्धार गरिएको छ । स्थानीय सामाजिक संस्था र प्रहरीको सहयोगमा आइतबार उनीहरूको उद्धार गरिएको हो ।

“रुद्रपुरबाट बन्धक बनाइएका २२ जना नेपाली युवाको उद्धार गरिएको छ,” भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले बाह्रखरीसँग भने, “योसँगै उद्धार हुनेको संख्या ५७ पुगेको छ ।”

एक गिरोहले भारतको उत्तराखण्ड राज्यस्थित रुद्रपुरमा डेढ सयदेखि २०० सम्म नेपालीलाई बन्धक बनाएको सूचना प्राप्त भएपछि स्थानीय प्रहरीले उनीहरूको खोजी गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“प्रहरीले खोजिरहेको भेउ पाएपछि बन्धक बनाइएका नेपालीलाई अन्यत्र सारेको शंका छ,” उपनियोग प्रमुख थापाले भने ।

गिरोहले आकर्षक रोजगारीको प्रलोभन देखाई नेपालीलाई भारतको रुद्रपुर पुर्‍याएर बन्धक बनाउँदै रकम असुल गर्ने गरेको खुलेको थियो । “रोजगारीको बहानामा बोलाउने । सम्बन्धित ठाउँमा पुर्‍याएपछि बैंक खाता खोल्न, आधार कार्ड बनाउन भन्दै घरबाट पैसा मगाउन लगाउने गरेको पाइएको छ,” उपनियोग प्रमुख थापाले भने ।

गिरोहले भनेबमोजिम पैसा मागेर नबुझाए उनीहरूमाथि कुटपिटसमेत हुने गरेको छ । गिरोहले बन्धक बनाएका एक नेपाली भागेर स्थानीय एनजीओमार्फत दूतावास आउन सफल भएपछि यो सबै खुलेको थियो ।

यही असार ५ गते मात्र रुद्रपुर नजिकैको भारतीय सहर काशीपुरबाट यसैगरी बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूलाई स्थानीय एनजीओ र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार, आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारतको उत्तराखण्डको काशीपुरमा बोलाई बन्दी बनाइएको थियो । 

उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुल गरेको सूचना पाएपछि नेपाली दूतावासले उत्तराखण्ड प्रहरी र सामाजिक संस्था 'किन इन्डिया'को सहयोगमा असार ५ गते ३५ जना नेपालीको सफलतापूर्वक उद्धार गरेको थियो । उद्धार गरिएकामध्ये केही नेपाली युवा १० महिनादेखि बन्धक थिए ।

उक्त घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको उपनियोग प्रमुख थापाले बताए । उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाइने जानकारी उनले दिए ।

पीडितसँग गिरोहले १२ हजार देखि ५० हजार भारतीय रुपैयाँसम्म (१९ हजार २०० देखि ८० हजार रुपैयाँसम्म) उठाउने गरेको पीडितहरूले नयाँ दिल्लीस्थित नेपाली दूतवाासलाई बताएका छन् । उनीहरूलाई बनबासा र सुनौली बोर्डर हुँदै भारतको उत्तरखण्ड पुर्‍याइएको थियो । 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्