
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोमा बनेको ओभरपास उद्घाटनमा रिबन काट्न लगाए, ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीलाई ।
अर्थात्, प्रधानमन्त्रीको हातबाट नभएर ट्राफिकका एसएसपी अधिकारीलाई रिबन काट्ने अवसर मिल्यो । जुन विरलै हुने उद्घाटनमध्येकै एक हो ।
उद्घाटन सकिएपछि ओलीले आफ्नो फेसबुकमा स्टाटस पोस्ट गरे, “सडकको जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरी सडकमा अहोरात्र खट्छन् । ट्राफिक व्यवस्थापन गर्न उनीहरूले धेरै दुःख र मेहनत गर्नुपरेको हुन्छ । ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा आज साक्षी बन्ने अवसर मिल्यो ।”
त्यसो त, ट्राफिक व्यवस्थापनका खटिने प्रहरीका लागि काठमाडौंमा चुनौतीपूर्ण बन्दै गएको छ । अत्यधिक सवारी चाप भएको व्यस्त काठमाडौंका सडकमा ट्राफिकलाई व्यवस्थापन गर्नै हम्मेहम्मे पर्ने गरेको छ ।
जसकारण उपत्यकाका मुख्य सडकमा खटिने ट्राफिक प्रहरी असुरक्षित बन्दै छन् । गएको जेठ २९ गते (बिहीबार) राजधानीको प्रमुख चोकमध्येको थापाथलीमा ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवान वर्षा शाह आफैँ घाइते हुन पुगिन् ।
त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाँदै गरेको बा१घ ४१८८ नम्बरको टेम्पोको ठक्करबाट उनी घाइते हुन पुगेकी थिइन् । टेम्पोको ठक्करबाट घाइते शाहको खुट्टामा चोट लागेपछि नर्भिक इन्टरनेशनल अस्पताल पुर्याइएको थियो ।
ट्राफिक प्रवक्ता एसपी दीपक गिरीका अनुसार, उनी ‘रेस्ट’ मा छिन् । यसरी ट्राफिक व्यवस्थापनमा खटिँदा घाइते हुने शाह एक्ली भने होइनन् ।
२०८० चैत २० गते तीनकुनेबाट बालकुमारीतर्फ जाँदै गरेको प्र. ३–०१–००५ ख ९७५५ नम्बरको बसले कोटेश्वर सडकखण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ठक्कर दियो ।
उक्त दुर्घटनामा प्रहरी नायब निरीक्षक टोपबहादुर खत्री गम्भीर घाइते भए । उनलाई उपचारका लागि सिभिल अस्पताल लगियो । त्यहाँ उपचार सम्भव नभएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरियो । तर, उनको उपचारकै क्रममा निधन भयो । उनी ट्राफिक प्रहरी कार्यालय कोटेश्वरमा कार्यरत थिए ।
नैकापबाट बलम्बुतर्फ आउँदै गरेको बा१झ ७४१८ सरकारी भ्यान एक्कासि बाटोमा खस्यो । त्यसबाट प्रहरी प्रभाग बलम्बुमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार रामप्रसाद यादवको निधन भयो ।
कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार हुँदै काँडाघारीतिर आउँदै गरेको बा९९प २८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा प्रहरी हवल्दार मेखबहादुर खड्का गम्भीर घाइते भए ।
३५ वर्षीय खड्का अस्थायी प्रहरी वृत्त कृष्ण मन्दिरमा कार्यरत थिए । उनको नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । उक्त मोटरसाइकल उनी आफैँले चलाएका थिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार, पाँच वर्षमा ट्राफिक व्यवस्थापनमै खटिएका १३ ट्राफिक प्रहरीको ज्यान गएको छ ।
ट्राफिक प्रहरीको अभिलेखका अनुसार, आर्थिक वर्ष २०७६/०७७ मा दुईजना ट्राफिक प्रहरीको ज्यान गएको देखाएको छ । यसरी नै आर्थिक वर्ष ०७७/०७८ मा तीनजना, ०७८/०७९ मा एकजनाको पनि ड्युटीमै खटिँदा ज्यान गएको थियो ।
यो क्रम आर्थिक वर्ष ०७९/०८० मा पनि रोकिएन । यो आर्थिक वर्षमा तीनजना ट्राफिक प्रहरीको ज्यान गएको देखाएको छ । यसरी नै आर्थिक वर्ष ०८०/०८१ मा तीनजना र ०८१/०८२ मा पनि एकजनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।
मृत्युबाहेक दुर्घटनामा परी २१ जना ट्राफिक प्रहरी गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरीलाई ठक्कर दिने कुल ३५१ दुर्घटनामा परी ४४७ जना ट्राफिक प्रहरी साधारण घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिकका अनुसार, काठमाडौं उपत्यकामा मात्रै दैनिक १० देखि १२ लाख सवारीसाधन गुड्ने अनुमान छ । “१८ लाख सवारीसाधनहरू दर्ता छन् । त्यसमध्ये १० देखि १२ लाख सवारी गुड्ने अनुमान हो,” एसपी गिरीले भने ।
काठमाडौंका सडकमा खट्न १८ सय ट्राफिक प्रहरी रहेका एसपी गिरीले जानकारी दिए । सडकमै खटिएर हरेक प्रकारका व्यवस्थापन र फरक–फरक प्रकृतिका चालकहरू हुने हुँदा ट्राफिकमाथि जोखिम हुने गरेको प्रहरीको भनाइ छ ।
उनका अनुसार, ट्राफिक प्रहरीको काम सडकमा खटिने, नियम पालना गराउने र कारबाही गर्ने हो । “मापसे गरेर सवारी हाँक्ने चालक, लाइसेन्स नभएका चालक, चोरीको सवारी हाँक्ने, सिकारु, ओभर कन्फिडेन्टका साथ सवारी चलाउने, लापरबाही गरेर सवारी चलाउने चालकहरू हुन्छन् । यस्तै, चालकहरू आफू पनि दुर्घटनामा पर्छन् र ट्राफिकलाई पनि दुर्घटनामा पार्छन्,” उनले भने ।
गल्ती गरेर भाग्न खोजेका चालकहरूलाई समात्नुपर्ने अवस्थामा ट्राफिकलाई ठक्कर दिने जोखिम हुने उनले बताए । उनले बाह्रखरीसित भने, “गल्ती गरेर भाग्न खोज्ने चालकहरू पनि हुन्छन् । यस्ता चालकहरू ओभरस्पिडमा भाग्न खोज्छन् । ट्राफिकले नियन्त्रणमा लिनुपर्ने हुन्छ । त्यसबेला पनि ट्राफिकलाई नै हानेर भाग्छन् ।”