
काठमाडौं । अमेरिकाले इरानका प्रमुख आणविक केन्द्र — नातान्ज, इस्फाहान र फोर्दोमाथि जुन २२ मा आक्रमण गर्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आक्रमणलाई ‘अपरेसन मिडनाइट ह्यामर’ नाम दिए । इरानको आणविक सम्वर्धन क्षमता पूर्ण रूपमा नष्ट भएको उनले दाबी गरे ।
आक्रमणमा युरेनियम उत्पादन र भण्डारणका संरचनालाई निसाना बनाइएको थियो । इरानले आफ्नो आणविक कार्यक्रम हतियारका निम्ति नभएको जिकिर गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले इरानमा तत्काल आणविक हतियार विकासको कुनै प्रमाण नभेटिएको भन्दै समर्थन गरेको छ । इरानी अधिकारीले ती केन्द्र पहिल्यै खाली गरिएको र नोक्सानी न्यून भएको बताएका छन् ।
आईएईएले नातान्ज र इस्फाहानमा व्यापक क्षति र फोर्दो पनि प्रभावित भएको पुष्टि गरेको छ । तर, भूमिगत भएका कारण फोर्दो आणविक केन्द्रको क्षतिबारे स्पष्ट जानकारी छैन । उपग्रह तस्बिरमा खाडल र नष्ट भएका भवन देखिन्छ ।
विज्ञले इरानको युरेनियम भण्डार पहिल्यै अन्यत्र सारिएको र केही क्षमता जोगिएको हुन सक्ने अनुमान गरेका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै निन्दा गरे । त्यसले मध्यपूर्वमा तनाव बढाएको छ ।
कुन आणविक संरचना प्रभावित ?
जुन २२ मा अमेरिकी आक्रमणमा फोर्दो, नातान्ज र इस्फाहान आणविक केन्द्रलाई निसाना बनाइएको ट्रम्प र इरानी अधिकारीले पुष्टि गरेका छन् ।
फोर्दो आणविक केन्द्र
कोम सहरनजिकको भूमिगत सम्वर्धन केन्द्र हो, फोर्दो । सन् २००६ मा यसलाई सञ्चालनमा ल्याइएको थियो ।
यो केन्द्रमा अमेरिकाले बी–२ स्टेल्थ बमवर्षक विमानबाट १४ म्यासिभ अर्डनन्स पेनेट्रेटर (एमओपी) बंकर–बस्टर बमहरू प्रहार गरेको जनाइएको छ । एमओपी जमिनभन्दा ६० मिटर तलसम्म प्रवेश गर्न सक्छ ।
जुन १३ मा इजरायली आक्रमणबाट त्यसको सतहमा क्षति पुगेको थियो । एमओपीबाट गहिरो प्रभाव परेको सम्भावना छ । क्षतिको मूल्यांकन बाँकी छ ।
नातान्ज केन्द्र
यो तेहरानबाट ३०० किमि दक्षिणस्थित इरानको सबैभन्दा ठूलो सम्वर्धन केन्द्र हो । त्यसको सतहमा पाइलट फ्युल एनरिचमेन्ट प्लान्ट (पीएफईपी) सेन्ट्रिफ्युज परीक्षणका निम्ति र भूमिगत फ्युल एनरिचमेन्ट प्लान्ट (एफईपी) छ । त्यसमा आक्रमण गर्न प्रयोग गरिएका हतियारबारे खुलाइएको छैन ।
इस्फाहान केन्द्र
मध्य इस्फाहानमा रहेको यो आणविक अनुसन्धान केन्द्र सन् १९७० देखि युरेनियम रूपान्तरणका निम्ति प्रयोग गरिँदै आएको छ । यहाँ अमेरिकी पनडुब्बीबाट दुई दर्जनभन्दा बढी टोमाहक मिसाइल प्रहार गरिएको जनाइएको छ । ती आक्रमणमा १२५ विमान संलग्न भएको र हालसम्म स्वतन्त्र क्षति मूल्यांकन छैन ।
के सुविधा नष्ट भयो ?
विश्लेषक तथा क्विन्सी इन्स्टिच्युट फर रिस्पोन्सिबल स्टेटक्राफ्टका कार्यकारी उपाध्यक्ष त्रिता पार्सी आक्रमणबारे इरानलाई पहिल्यै चेतावनी प्राप्त भएको र सम्पत्ति स्थानान्तरण गरिएको विश्वास गर्छन् । यद्यपि, तिनीहरूको वर्तमान स्थान अज्ञात छ ।
अमेरिकी आक्रमणपछि कुनै उल्लेखनीय रेडिएसन लिक भएको पत्ता नलागेकाले इरानले सम्वर्धन गरेको युरेनियम भण्डार पहिल्यै अन्यत्र सारिएको हुन सक्ने संकेत छ । यसको पुष्टि इरानी अधिकारी रेजा कार्दान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठन (आईएईए)को रेडिएसन निगरानीले शाखाले गरेको छ ।
के यसले इरानको आणविक प्रयास अवरुद्ध गर्छ ?
अमेरिकी आक्रमणबाट इरानको आणविक कार्यक्रममा भएको पूर्ण प्रभाव अझै अनिश्चित छ । र, इरान आणविक हतियार बनाउन नजिक भएको कुनै प्रमाण भेटिएको छैन ।
विश्लेषक त्रिता पार्सी इरानको सम्वर्धित युरेनियम भण्डार उसको प्रमुख सम्पत्ति र हतियार बनाउन सकिने सम्भावना कायम रहेको बताउँछन् । ट्रम्पले दाबी गरेभन्दा कम क्षति भएको भन्दै इरानको प्रयासलाई थप अवरुद्ध गर्न निरन्तर बमबारीको वकालत इजरायली अधिकारीले चाँडै गर्न सक्ने विश्लेषण गरिएको छ ।
इरानको आणविक कार्यक्रमले यसअघि अवरोधको सामना गरेको थियो ?
थियो । इरानको आणविक कार्यक्रम सन् १९५० को दशकमा शाह मोहम्मद रेजा पहलवीको नेतृत्वमा अमेरिका र पश्चिमाको समर्थनमा थालिएको थियो । त्यो ऊर्जा र सीमित हतियार विकासलक्षित थियो ।
सन् १९७९ को इस्लामिक क्रान्तिमा खर्च अभाव र पश्चिमा प्रविधिमा निर्भरताका कारण यसका केही हिस्सा रोकियो । इरान–इराक युद्ध (१९८०–१९८८)मा स्रोत युद्धमा केन्द्रित भयो । र, इराकले बुसहेर रियाक्टरमा बमबारी गर्दा गम्भीर क्षति पुगेको थियो ।
सन् २००५ तिर अमेरिका र इजरायलद्वारा थालिएको स्टक्सनेट भाइरसबाट सेन्ट्रिफ्युजमा क्षति पुगेको थियो । सन् २०१५ मा आईएईएको निगरानीसहित जेसीपीओए सम्झौताबाट ३.६७ प्रतिशतमा सम्वर्धन सीमित गर्दा त्यसमा सुस्तता आएको थियो । सन् २०१८ मा सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णय र नयाँ प्रतिबन्धले इरानलाई त्यसका सर्त त्याग्न बाध्य बनाएको थियो । अलजजिराबाट ।