site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यकार मानसाग्निको ‘चैतन्यबोध’ लोकार्पण

काठमाडौं । कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक मानसाग्नि (डा. हरिप्रसाद पोखरेल)को पहिलो निबन्धकृति ‘चैतन्यबोध’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । 

मंगलबार काठमाडौंमा पेज टर्नरद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिला लगायतले कृति लोकार्पण गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रमुख अतिथि प्रा.डा. भट्टराईले पूर्वीय दर्शन, वेद वेदाङलाई पठनीय निबन्धका रूपमा यस निबन्ध संग्रहमा प्रस्तुत गरिएको बताए । उनले यस कृतिले पूर्वीय चेतनालाई प्रकाशमा ल्याएकोमा खुसी व्यक्त गर्दै रसपूर्ण पुस्तक भएको उल्लेख गरे ।

प्रा.डा. नेपालले कृतिमाथि पाठकीय मन्तव्य राख्दै निबन्धकृति दार्शनिक निबन्धहरूको सँगालो भएको बताए । यस कृतिमा वैचारिक शक्तिहरू प्रशस्त रहेको चर्चा गरे । 

प्रा.डा. गौतमले यस कृतिका निबन्धहरूले आफूलाई चिन्न मद्दत पुर्‍याउने बताए भने निबन्धकार मोमिलाले मानसाग्निबाट यस्ता कृतिहरू पाठकमाझ आइरहनुपर्नेमा जोड दिइन् ।

कृतिकार मानसाग्निले कविताबाहेक अरू लेख्दिन भन्दाभन्दै पनि निबन्धकार मोमिलाको प्रेरणाले यो कृति आएको स्वीकार गरे । उक्त अवसरमा प्रा.डा. कोइरालाले पनि कृतिमाथि आफ्नो धारणा राखे ।

मानसाग्निका कवितालगायत विभिन्न विधाका गरी ४० बढी पुस्तक प्रकाशित छ । सार्वजनिक निबन्धकृति पेज टर्नरले बजारमा ल्याएको हो ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्