
काठमाडौं । अमेरिकी बंकर ब्लस्टर बम आक्रमणले पनि इरानको आणविक सुविधाहरूलाई नष्ट नगरेको एक अमेरिकी गुप्तचर मूल्यांकनले खुलासा गरेको छ । उक्त प्रतिवेदनमा इरानको यो कार्यक्रमलाई वर्षौं नभएर केही महिनामात्र पछाडि धकेलेको उल्लेख छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको डिफेन्स इन्टेलिजेन्स एजेन्सीको गरेको प्रारम्भिक क्षति मूल्यांकनको विवरण सीबीएस न्युज र अन्य मिडियामा लिक भएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसले यो मूल्यांकनलाई फर्जी भएको र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हेप्ने मनासयले ल्याइएको बताएको छ । सामाजिक सञ्जालको एक पोस्टमा, ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले भनिन्, “यो कथित ‘मूल्यांकन’ पूर्णरूपमा गलत छ । यो ‘अति गोप्य’को रूपमा वर्गीकृत गरिएको थियो । तर, गुप्तचर समुदायको एक अज्ञात र निम्नस्तरको व्यक्तिले सीएनएनमा चुहाएको छ ।”
“यो कथित मूल्यांकन रिपोर्टको चुहावट राष्ट्रपति ट्रम्पलाई निच देखाउने र इरानको आणविक कार्यक्रमलाई पूर्णरूपमा नष्ट गर्ने सफल मिसन सञ्चालन गर्ने बहादुर लडाकु पाइलटहरूलाई बदनाम गर्ने प्रयास हो,” उनले अगाडि बताइन्, “जब तपाईं ३० हजार पाउन्डको १४ वटा बमहरू आफ्नो लक्ष्यमा पूर्णरूपमा प्रहार गर्नुहुन्छ, तब पूर्ण विनाश हुन्छ भन्ने सबैलाई थाहा छ ।”
सीबीएस न्यूजले मूल्यांकन गर्ने कार्यसँग परिचित एक स्रोतले उनीहरूलाई के पुष्टि गरेको छ भने प्रारम्भिक मूल्यांकनले आक्रमणले इरानी आणविक कार्यक्रमलाई केही महिनाले मात्र पछाडि धकेलेको छ । र, परमाणु सुविधाहरूलाई पूर्णरूपमा नष्ट नगरेको रिपोर्ट गरेको छ ।
स्रोतले बताए अनुसार मूल्यांकनले फोर्डो परमाणु सुविधामा आक्रमणले प्रवेशद्वारहरू भत्काएको तर गहिरो भूमिगत युरेनियम विकास गर्ने पूर्वाधार धेरै हदसम्म जस्ताको तस्तै रहेको संकेत गर्छ ।
रहस्यमय बन्यो इरानको युरेनियम : आक्रमणबाट नष्ट भयो कि पहिले नै सारियो ?
उनीहरूले लिविटको मूल्यांकनको गुणस्तरबारेको दाबीलाई पनि खण्डन गर्दै यस्ता प्रारम्भिक मूल्यांकनहरू सामान्यतया सही हुने बताए ।
यसैबीच, इजरायल र इरानबीचको युद्धविराम लागु भएको देखिएको बीबीसीले जनाएको छ । दुवै राष्ट्रले यो लागु भएको स्वीकार गरेका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देशलाई सम्बोधन गर्दै इरानविरुद्धको आक्रमणलाई ऐतिहासिक विजय भन्दै प्रशंसा गरेका छन् ।
इरानका राष्ट्रपतिले आफ्ना नागरिकले १२ दिनको युद्धको अन्त्य तय गरेको बताएका छन् । बीबीसी