
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसद् अवरोध गरिरहेका प्रतिपक्ष दलहरूलाई हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्न आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।
संसद्को प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)ले संसदीय व्यवस्थाप्रति विश्वास देखाइरहँदा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने मेरो गोरुको बाह्रै टक्का भनेझैँ हठ गरिरहेको जिकिर गरे । रास्वपा र राप्रपाको कदम गलत रहेको उनको भनाइ छ । समस्याको समाधान गर्नबाट भागेर अड्काउन नहुने पनि बताए ।
छानबिन समिति स्वीकार गरेर समितिले निर्वाध रूपमा काम गरोस्, आगामी दिनमा त्यस्ता काम नहोस् भन्नेतर्फ प्रतिपक्षी दलहरूले सचेत गराउन खबरदारी गर्नुपर्ने उल्लेख गरे ।
"मन्त्रालयको कुनै कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्न थाल्दा मन्त्रीले राजीनामा दिँदै जाने कुरा हुँदैन । त्यो व्यक्तिसँग जोडिएको विषय छैन । यो संसदीय विधि र पद्धतिअनुसार छैन । सरकारले कुनै हठ गरेको छैन । संसद् बहिष्कार गरिरहेका प्रतिपक्षी दलहरुलाई म के आग्रह गर्दछु भने स्वीकार गरेर जानुपर्छ । अब बरु समितिले निर्वाध भएर काम गर्न पाओस् । भोलि यस्ता समस्या नआउन् भनेर राम्रो सुझाव देओस् भनेर लाग्नुपर्छ," उनले भने ।
सरकारले सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ । जसमा रास्वपा र राप्रपाले असहमति जनाएका छन् ।