site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जासुसी गर्न बनाइएको लामखुट्टे आकारको चिनियाँ ड्रोन कस्तो छ ?

काठमाडौं । चीनले गोप्य सैन्य अपरेसन र जासुसीका लागि डिजाइन गरिएको लामखुट्टे आकारको ड्रोन सार्वजनिक गरेको छ । तर, यो प्रविधि गलत समूहको हातमा परे गम्भीर परिणाम निम्त्याउन सक्ने न्युयोर्क पोस्टको समाचारमा उल्लेख छ ।

दुई पातजस्ता पखेटा, कालो ठाडो शरीर र तीनवटा कपालजस्ता खुट्टा भएको यो सानो उपकरण चीनको हुनान प्रान्तस्थित नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीका वैज्ञानिकहरूले डिजाइन गरेका हुन् ।

“यहाँ मेरो हातमा लामखुट्टेजस्तो रोबोट छ,” एनयूडीटीका विद्यार्थी लियाङ हेसियाङले सानो ड्रोनलाई आफ्नो औँलामा समात्दै भने, “यस्ता साना बायोनिक रोबोटहरू युद्धक्षेत्रमा सूचना संकलन र विशेष मिसनका लागि विशेषरूपमा उपयुक्त छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले यो डरलाग्दो उपकरणले सैन्य र नागरिक मिसनको विस्तृत दायरा पूरा गर्न सक्ने बताए । यो सानो पखेटा भएको ड्रोन अल्ट्रा–स्मल क्यामेरा र माइक्रोफोनले सुसज्जित छ, जसले तस्बिर, ध्वनि, र इलेक्ट्रोनिक संकतहरू खिच्न सक्छ । यसको सानो आकारले यो नांगो आँखाले लगभग नदेखिने र परम्परागत रडार प्रणालीबाट पत्ता नलाग्ने गरी उड्न सक्ने बनाउँछ ।

प्राविधिकरूपमा ठूलो प्रगति भए पनि विज्ञहरूले यस ड्रोनले निम्त्याउन सक्ने गम्भीर सुरक्षा जोखिमबारे चेतावनी दिएका छन् ।

“यदि चीनले लामखुट्टे आकारका ड्रोन उत्पादन गर्न सक्षम छ भने उसले यस्ता ड्रोनहरूलाई ठूला ड्रोनहरूले पहुँच गर्न कठिन हुने ठाउँहरू, जस्तै भित्री क्षेत्रहरूमा, गुप्तचर, निगरानी र संकलन कार्यका लागि प्रयोग गर्न इच्छुक हुनेछ,” जर्जटाउन रिसर्च फेलो सैम ब्रेस्निकले द टेलिग्राफलाई बताए ।

वरिष्ठ रक्षा अनुसन्धानकर्ता टिमोथी हिथले यो माइक्रो–ड्रोनलाई अपराधीहरूले व्यक्तिगत जानकारी, जस्तै पासवर्ड चोर्न वा व्यवसायहरूमा घुसपैठ गर्न दुरुपयोग गर्न सक्ने चेतावनी दिए । यद्यपि, उनले यो उपकरणको सानो आकारले यसको सञ्चालन दायरा र रेजिलियन्ट क्षमता सीमित गर्न सक्ने उल्लेख गरे ।

“लामो समयसम्म जासुसी गर्न र संकलित डेटा छानबिन गर्न, कसैले माइक्रो–ड्रोनहरूलाई निरन्तर सञ्चालन गर्न, रिचार्ज गर्न र पुनः तैनाथ गर्न तयार हुनुपर्छ, जुन सबै लक्षित व्यक्ति वा व्यवसायको दायराभित्र हुनुपर्छ,” हिथले उक्त आउटलेटलाई भने, “यही कारणले यो ड्रोन युद्ध क्षेत्रमा कम उपयोगी तर विशेष मिसन अपरेसन वा जासुसी मिसनका लागि बढी उपयोगी छ ।”

यो डरलाग्दो नयाँ ड्रोन चीनले १०० भन्दा बढी ड्रोन र करिब दुई हजार २०० पाउन्ड मिसाइल उचाइमा प्रक्षेपण गर्न डिजाइन गरिएको हवाई मदरसिप रेन्डरिङहरू सार्वजनिक गरेको एक महिनापछि मात्र बाहिर आएको छ ।

जिउ तान एसएस–यूएभी नामक यो उपकरण ८२ फिटको विशाल पखेटा भएको छ र विश्वभरका धेरै मध्यम दुरीका रक्षा प्रणालीहरूभन्दा माथि उड्न डिजाइन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्