site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि बुधबार आफैँ अदालतमा हाजिर हुन पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालको आजै (बुधबार) बयान सकेर थुनछेक बहस भएको हो । बहस सकिएसँगै आजै आदेश हुने विशेष अदालत इजलासले जनाएको छ ।

थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बस्याल, विशेष सरकारी वकिलकै भगवती गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरूले मन्त्रिपरिषद्ले २०६६ पुस २२ गते गरेको निर्णय २९ गते उल्टाएर पतञ्जलीको व्यापार योजनालाई सहयोग पुग्ने गरी निर्णय गरेका कारण उक्त निर्णय नीतिगत हुन नसक्ने र माधव नेपालमाथि कारबाही अघि बढाउनुपर्ने दलिल प्रस्तुत गरेका थिए । 

नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्दप्रसाद बन्दी, खम्बबहादुर खाती, रमन श्रेष्ठ, दिनेश त्रिपाठी, टीकाराम भट्टराईसहितले बहस गरेका थिए । नेपालका तर्फबाट बहस गर्नेहरूले संविधानको धारा ८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ४ को 'ख' बमोजिम अख्तियारले आफ्नो क्षेत्रधिकार मिचेको भन्दै मुद्दा नै खारेज बाँकी रहेको दाबी गरे । उनीहरूले मन्त्रिपरिषद्को कार्यसम्पादनसम्बन्धी ऐनको समेत ख्याल नगरी अख्तियारले मुद्दा दायर गरेको बता‌ए ।  

मन्त्रिपरिषद्ले गर्ने निर्णय कुन नीतिगत हो, कुन होइन भनेर बल्ल छलफल सुरु भएको भन्दै नेपालविरुद्धको मुद्दा चलाउने हो भने संसद्को औचित्य सकिने र अख्तियार नै सर्वे सर्वाउने दाबी गरे । 

संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्चको संवैधानिक इजलासलाई मात्र रहेको भन्दै अख्तियारले आफैँ सर्वोच्च बन्ने प्रयास गरेको उनीहरूको दाबी छ । नेपाल पक्षका वकिलहरूले पूर्वप्रधानमन्त्री र एउटा पार्टीको अध्यक्षलाई तारिखमा पनि राख्न उपयुक्त नहुने भन्दै बोलाएको समयमा उपस्थित हुनेगरी आदेश गर्न इजलाससमक्ष माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्