
विराटनगर । कोसी सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट पारित भएको छ । सरकारले प्रस्ताव गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट बिहीबार प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको हो ।
सरकारले असार १ गते बजेट पेस गरेको थियो । बजेटमाथि भएको छलफलमा ३८ जना सांसदले भाग लिएका थिए ।
छलफलपछि पारितका लागि आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सदनसमक्ष प्रस्ताव पेस गरेका थिए ।
सरकारले चालु खर्चका लागि १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
आय स्रोतको अनुमान अनुसार, आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड र बाँकी रकम संघीय सरकारबाट प्राप्त हुने अनुदानबाट व्यवस्थापन गरिनेछ ।
पारित बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ ।