site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
डिजिटल प्रेम

म सोह्र वर्ष भएपछि सुरु भएको हो, मलाई केटाहरूले हेर्न । जतिसक्दो छिटो बिहे गर्‍यो, त्यति नै ढुक्क भएर बस्न सकिन्छ भन्ने आमाबालाई लागेको थियो । घरमा केटाहरूको आवतजावत भइरह्यो, मलाई हेर्न ।

तर, जति केटाहरूले हेरे पनि म उनीहरूको रोजाइमा परिनँ । मेरो दाहिने गालामा एउटा कालो कोठी थियो । मध्यम खालको उचाइ थियो । अनुहारको रङ पनि मध्यम नै थियो । गालाको कोठीको आकार ठूलो थियो, झन्डै आधा गालाभरि फैलिएको ।

यिनै कारण सुन्दर थिइनँ । यो जन्मका साथै लिएर आएकी हुँ । कोठी फाल्न सकिने इच्छा आमाबाको थियो । अपरेसन गरेर फाल्न मिल्छ भनेर एक दिन डाक्टरकहाँ गएका थियौँ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डाक्टरले के भने कुन्नि, पछि फाल्ने कुरा यत्तिकै रोकियो । छोरीमान्छे सुन्दर हुनुपर्छ भन्ने समाजमा कालो दाग जन्मिँदै लिएर आएँ । तर, पढाइ सुन्दर थियो मेरो । कक्षामा जहिले प्रथम हुने गर्थें । पढाइले मलाई साथ दिएको थियो, सुन्दरताले साथ नदिए पनि ।

म कुल र मूल दुवै बलियो भएको घरमा जन्मिएकी हुँ, तर गालामा दाग बोकेर । यही कारण आमा आफूलाई सराप्नुहुन्थ्यो, ‘के खाएछु खान नहुने गर्भावास्थामा मैले, गालामा यत्रो दाग भएकी छोरी पाएँ !’

बाले पीर गर्नुभयो पूर्वजन्मको । पूर्वजन्ममा केही पाप गरेँ कि मैले ! त्यो पापको बदला यो जन्ममा भोगिरहेको छु, छोरी नराम्री पाएर ।

मेरो गालाको दागलाई लिएर बाआमा आपसमा यस्तै कुरा गर्नुहुन्थ्यो । म आमाको नराम्रो खानाको परिणाममा जन्मिएँ वा बाले पूर्वजन्ममा गरेको पापको कारण ! कहिल्यै बुझ्न सकिनँ ।

मलाई हेर्न आउने र शारीरिक खोटलाई मलजल गर्ने प्रक्रिया चलिरह्यो । हेर्ने र छोड्ने कुरा कुनै नौलो भएन ।

पछिल्लो समय म अब्बल बनिसकेकी थिएँ, पढाइ सकीवरी सरकारी जागिर खाएर । सरकारी जागिर, त्यो पनि अधिकृत भएर । बाआमालाई मेरो बारेको चिन्ता घट्दै थियो । चैनको सास फेर्न सकिन्छ अब !

उहाँहरूको पीरलाई मेरो सरकारी जागिरले मलम लगाइदिएको थियो । भोलि आफ्नै भाइको परिवारले यसलाई हेप्नेछ– बेलाबेला भने यही भन्नुहुन्थ्यो ।

‘यद्यपि, भाइकै परिवार पाल्छे । कसको तागत अब यसलाई हेप्ने !’ म नहेपिने बुझेपछि उहाँहरूलाई सन्तोष मिल्न थाल्यो ।

सुन्दरताका व्याख्याले मलाई चोट दिएको थियो । त्यसलाई पुर्न म पढाइमा तल्लीन थिएँ । जब अधिकृतमा नाम निकालेर नयाँ अफिस पुगेँ, त्यहाँ पनि मलाई कुरूपताको नजरले हेर्न छोडिएन ।

र पनि, अधिकृतको ट्याग भिरेर सुन्दरताको परिभाषालाई कमजोर बनाउनतिर लागेँ । पढाइमा जस्तै काममा पनि अब्बल बन्ने प्रयास सुरु गरेँ ।

बिस्तारै मेरो कामप्रतिको लगनशीलता देखेर कार्यालयमा सबै प्रसन्न हुँदै गए । मलाई काम गर्न/गराउन सहज हुँदै गयो ।

शनिबारको दिन थियो । ढिलो उठेँ । सिरकभित्रै बसी सोसल मिडियातिर छिरँे । त्यतै एउटा पोस्ट देखँे । त्यहाँ लेखिएको थियो, ‘मान्छेले सुन्दरता आवरणमा खोज्छ, तर सबैको आवरण सुन्दर हुँदैन । ऊ बुझ्दैन । फेरि, सबै सुन्दर मान्छेहरूमा सुन्दर व्यवहार हुँदैन ।’

यो कुरा मात्र मेरा लागि लेखिएको जस्तो भयो । मैले धेरै सुन्दर मान्छेहरूमा अत्यन्तै कुरूपता भेटेकी थिएँ । तर, ती मेरै कुरूपताको बखान गर्दथे फेरि ।

मलाई यति मन परेछ कि त्यो पोस्ट कम्तीमा आठदशचोटि नै पढेँ । त्यसपछि कसले लेखेको हो भनेर प्रोफाइल सर्च गर्न थालेँ । प्रोफाइल पिक्चरमा फोटो थिएन । त्यहाँ कमलको फोटो राखिएको थियो । र, कमलको फूलमाथि लेखिएको थियो, ‘कमल हिलोमा फुल्छ, त्यसैकारण पवित्र छ ।’

मलाई मन पर्‍यो उसले लेखेको । मलाई उसको साथी बनूँबनूँ भयो । तर, फ्रेन्ड रिक्वेस्ट पठाउन सकिनँ । उसको नाम याद गर्न थालेँ । नाम पनि हाम्रो जस्तो थिएन । कमलको फूलको मुनि थियो, ‘मृत्युलाई जितेर फर्केको मान्छे ।’

भोलिपल्ट अफिस गएँ । अफिसमा पनि सोसल मिडियामा भेटेको त्यो वाक्य सम्झनामा आइरह्यो । साँझ जब घर फर्किएँ, केही नसोची फ्रेन्ड रिक्वेस्ट पठाइदिएँ ।

त्यसपछि पटकपटक उसको प्रोफाइल पछ्याइरहेँ । म डिजिटल संसारमा व्यस्त रहेँ, मात्र उसलाई पछ्याउन ! यति धेरै व्यस्त म पहिले भएकै थिइनँ । कुरिरहँे राति एघारबाह्र बजेसम्मै, एक्सेप्ट भएको छैन मेरो फ्रेन्ड रिक्वेस्ट भनेर ।

पछि रिस उठ्यो र वाइफाइ नै अफ गरिदिएँ । निदाउने प्रयत्न गर्न थालेँ । तर, निदाउन सकिनँ ।

भोलिपल्ट सधैँजस्तो आफ्नो नियमित काममा लागेँ । कार्यालयमा अलि व्यस्त नै भएछु । थकाइ लागेछ । आराम गर्न खोजेँ । अहँ, सकिनँ । उठेर चिया बनाएँ । चिया पिउँदै फेरि सोसल मिडियामा आँखा दौडाएँ ।

मेरो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट भएछ । हाई लेखेको इमोजी आएको रहेछ । म हर्षित भएँ । मैले पनि त्यस्तै इमोजी पठाइदिएँ । उताबाट वैशाखीको सानो तस्बिर आयो ।

अब सामान्य भलाकुसारी सुरु भयो अनलाइनमा । म आज अलि हर्षित भएँ । ऊसँग कुरा गर्दा मलाई आनन्द अनुभूति भयो । अरू दिनभन्दा आज आफैँलाई फरक पाएँ ।

उप्रान्त मेरो सेड्युल यस्तो बन्यो, दिनमा कार्यालय र साँझमा ऊसँग गफिने । हामी दिनहुँ च्याटमा झुम्मिन थाल्यौँ । यस्तैमा एक दिन उसले प्रस्ताव गर्‍यो, भिडियो कलमा बोल्ने । मैले तुरुन्तै नबोल्ने बताए । किन ? भन्ने प्रश्न गर्‍यो । मैले सिन गरेँ, तर जवाफ फर्काइनँ ।

त्यसपछि उसले अर्को प्रश्न गरेन । म वास्तविक संसारमा कुरूप मानिएकी मान्छे । डिजिटल संसारमा आफ्नो कुरूपता प्रदर्शन गर्न सकिनँ । उसले कुरा मोड्दै अर्को प्रश्न गर्‍यो ।

‘तपाईंले प्रोफाइल पिक्चरमा किन पछाडि फर्किएको फोटो राख्नुभएको ?’

मैले भनँे, ‘मलाई त यस्तै मनपर्छ ।’ भनिनँ मेरो अनुहार सार्वजनिक गर्न मन छैन । सोधिनँ, तपाईंको प्रोफाइलमा किन कमलको फूल राखेको ?

मलाई बोल्ने जाँगर चलेन । त्यसपछि हामी आफ्नोआफ्नो काममा लाग्यौँ ।

नियमित गतिविधि भएको छ, ऊसँग च्याटमा गफिनु । गफिने क्रममा अर्को दिन अर्कै प्रस्ताव आयो, ‘हामी प्रत्यक्ष भेटाैँ न’ भन्ने ।

पोखरा सेरोफेरोभित्रैका दुवैले दुवैलाई चिनेका थिएनौँ । तर, डिजिटल संसारमा हाम्रो भेट दिनहुँ हुन्थ्यो । भेट्ने कुराले मनलाई भारी बनायो । मैले भनेँ, ‘प्रत्यक्ष भेट्न मलाई डर लाग्छ ।’

उसले ‘किन डराउनुपर्‍यो र ?’ भन्यो ।

मैले भनेँ, ‘भेटेपछि हाम्रो च्याटिङ बन्द हुन्छ ।’ 

‘च्याट समेत बन्द हुने कुन विशेषता छ तपाईंसँग ?’

मैले सोझै जवाफ दिएँ, ‘त्यही विशेषताकै कारण म तपाईंसँग भेट्दिनँ । मलाई डर लाग्छ, हाम्रो प्रत्यक्ष भेटले हाम्रो दैनिक कुराकानी समाप्त हुन्छ । बरु, यसै ठिक छ । हामी डिजिटल कुराकानीमै सीमित रहौँ । प्रत्यक्ष नभेटौँ ।’

उसलाई मेरो कुरा मन पर्‍यो कि परेन, थप केही आएन उताबाट ।

यता एक्लै बोलेँ— यो डिजिटल लत पो हो त । यो लतले कतै प्रेमको माग गरेको त होइन ! मैले मनमनै स्वीकारेँ ऊसँग प्रेम अंकुराउन थालेको छ भन्ने । अझ वास्तविक प्रत्यक्ष संसारभन्दा पर बसेर मैले उसलाई माया गरेको आभास भएको छ ।

जब उसले भेट्ने कुरा गर्छ, वास्तविकता अर्कै हुन्छ कि भन्ने पीर बढ्छ । उसलाई नभेटे पनि उसका शब्दको सम्मान गरिरहेकी छु । उसका वाक्यहरू प्रिय लागिरहेका छन् ।

ऊ अलिअलि साहित्यिक मान्छे पनि होे । आफूले पढेका किताबका बारेमा चर्चा गर्थ्यो । किताब सकिएपछि समीक्षकझैँ मसँग च्याटमा समीक्षा गर्थ्यो । मलाई उसका समीक्षा प्रिय लाग्थे ।

म अलिअलि पढ्ने मान्छे हुँ । उसले समीक्षा गरेका र मैले नपढेका किताबहरू किनेर पढ्न थाल्छु । उसलाई अडियो बुक खासै मन पर्दैनथ्यो । सुनेको भन्दा किताब पढेको धेरै राम्रो– किताबका प्रसंगमा यस्तो भन्ने गर्थ्यो ।

त्यसैकारण हुनुपर्छ, म उसलाई उसका कुरामा साथ दिन थालेकी छु, उसलाई नबताईकन । म अडियोमा रुमलिन्थेँ पहिले, अहिले त पुस्तक पढ्ने भएकी छु ।

मेरो जागिरबारे ऊसँग कहिले कुरा गरिनँ । किताब अनि अन्य रुचि र अरुचिका कुरा गरेँ ।

एक दिन उसले भन्यो, ‘मेरो एउटा खुट्टा छैन नि सान्वी !’

अकस्मात् भनेको यो कुरा मैले पत्याइनँ । ‘तर, म जन्मजात खुट्टा नभएको मान्छे होइन, सान्वी,’ उसले फेरि भन्यो ।

उसको कुराले अन्तरमनलाई छायो । मैले भनेँ, ‘किन यस्तो भन्दै छौ समीर ?’

उसले भन्यो, ‘धेरै कुरा हुन्छ अचेल हाम्रो, तिमी मलाई आफ्नै मान्छे लाग्छ । आफ्नो मान्छेसँग वास्तविक कुरा लुकाउन हुँदैन, मेरो भित्री मनले आजभोलि त्यस्तो भनिरहेको छ ।’

समीर भन्दै गयो, ‘हामी यसरी गफिने मात्र होइन, मलाई तिमीसँग प्रत्यक्ष भेटेर आफ्नो अवस्था देखाउन मन छ । यस्तो हुनाको कारणबारे बताउन मन छ ।’

उसका कुराले मलाई ऊसँग भेटूँभेटूँ भयो । मन अत्तालियो । कति गाह्रो छ होला उसलाई ? मैले भेट्ने साहस गर्नुपर्छ । तर, साहस जुटाउने कसरी ?

एकदुई दिन म ऊसँग बोलिनँ । तर, उसकै विषयमा सोचेर बसेँ । मेरो गालामा खोटी छ त के भयो, म राम्रोसँग हिँड्न सक्छु । म मध्यम कदकी छु त के भयो, आफ्नो खुट्टामा उभिएकी छु । मैले रूप नराम्रो हुँदैमा कमजोर महसुस गर्नुपर्ने रहेनछ, म त तन्दरुस्त मान्छे पो त !

उसको त हिँड्ने खुट्टा नै छैन । उसलाई कति गाह्रो होला ? अदृश्य समीर मेरो वरपर नाचिरह्यो ।

समीरको पहिलो च्याट झट्ट सम्झिएँ । पहिलो दिनमै उसले मलाई आफ्नो खुट्टा नभएको संकेत गरेको थियो, वैशाखीको इमोजी पठाएर । सायद आफ्ना बारेमा स्पष्ट पारेको थियो होला ।

मलाई उसको कुरा वास्तविक लाग्यो । अब पालो मेरो थियो, आफ्नो वास्तविकता बताउने । तर, थकथक भइरहेको थियो ।

समीरको जोड बिहे गर्नेमा थियो । सुन्दर परिवार बसाउनेमा थियो । म बिहेसँग डराइरहेकी थिएँ, हिजोका दिनमा बिहेका लागि पटकपटक अस्वीकृत भएका कारण ।

ती दिनहरूमा कुमार केटा मात्र होइन, मसँग बिहे गर्न सन्तानका पिता भइसकेका विदुर बाबुहरूले पनि अस्वीकार गरेका थिए । भन्ने गर्थे— उचाइ बढाउन बजारमा हिल चप्पल पाइन्छ, कालोलाई गोरो बनाउन प्रशस्तै क्रिम पाइन्छ, तर गालाको टाटो केले लुकाउने !

मेरो स्वास्थ्य अवस्था तन्दुरुस्त थियो । पढ्नेलेख्ने कुरामा अगाडि थिएँ । सरकारी जागिर खाएकी थिएँ । तर पनि बिहेको लागि अयोग्य थिएँ ।

तमाम योग्यताका बीच एउटै अयोग्यताको सधैँ जित भयो, मेरो गालाको जन्मकोठी । दिनभर अफिसमा यस्तै कुरा सोचेर बिताएँ । साथै, समीरलाई सम्झिरहेँ ।

घर पुगेर मैले ऊसँग कुरा गर्न खोजेँ । उसको रिप्लाई आएन । नरमाइलो लाग्यो । म खाना नखाई सुतेँ । भोलिपल्ट बिहान अनलाइन हुनासाथ समीरका मेसेजहरू ह्वारह्वार्ती आए । मलाई शान्ति मिल्यो ।

उसले काममा ज्यादै व्यस्त भएर कुरा गर्न नसकेकोमा माफी माग्यो । ‘हाम्रोे सम्बन्ध अचम्मको छ है सान्वी ! यसलाई डिजिटल लत भन्ने हो कि प्रेम भन्ने हो !’

यति भन्दै खुसीवाला इमोजी पठायो । त्यो देखेर म मक्खिएँ । मैले आफैँसँग भनेको कुरा उसले आज मलाई भन्यो । मैले पनि मक्ख परेको इमोजी पठाइदिएँ ।

लामो समयको अनलाइन वार्तालापपछि हामीले भेट्ने ठाउँ तय गर्‍यौँ । लेकसाइडमा भेट्ने कुरा गर्न थाल्यौँ । लेकसाइड भन्नासाथ फेवाताल बुझ्छन् मान्छे ।

‘रमणीय तालनगरका बासिन्दा हौँ दुवै । जता गयो त्यतै हामीलाई तालले स्वागत गरिरहन्छ । फेवा, बेगनास र रूपा सबैले सुनेका नाम हुन्, समीर – अलि नसुनिएको ताललाई प्राथमिकता दिऊँ न ।’

यही चर्चामा खास्टेतालको किनारमा भेट्ने कुरा समीरले राखे । र, खुसी हुँदै भने, ‘यो त मेरो आँगनजस्तै हो, मलाई नजिक पारेँ है । तिमीलाई अलिकति टाढा पर्छ कि ता !’

मैले ‘म समयमै आइपुग्छु’ भन्दै च्यटिङ बन्द गरेँ ।

मलाई अनौठो अनुभूति भइरह्यो । आज पहिलोपटक उसलाई प्रत्यक्ष फेस गर्नु छ– यही सोच्दैसोच्दै तयार भएँ ।

शनिबारको दिन थियो । न झरी न बादल । म खास्टेताल किनारमा रहेको पार्कमा पुगेर उभिएँ । त्यही पार्कमा भेट्ने कुरा तय भएको थियो । वरपर हेरँे, कोही देखिनँ । घडी हेरेँ । भर्खर साढे दश भएको रहेछ । मैले कति हतार गरेछु ! मलाई एघार बजाउन दुई घण्टा लागेजस्तो भयो ।

परबाट एउटा मानव आकृति तालतर्फ आउँदै गरेको देखेँ । मलाई लाज लाग्यो । आज अकस्मात् मैले लजाएको अनुभूति गरेँ । यसरी पहिले कहिल्यै लजाएकी थिइनँ ।

फेरि त्यता फर्किनँ । हामीले एकार्काको आवाज आजसम्म सुनेका छैनौँ । एकापसमा च्याटिङ मात्र गरेका छौँ । कसरी बोल्छ होला ऊ, संवाद कसरी सुरु हुन्छ होला हाम्रो ? मनमा कुरा खेलाउँदै तालतिरै घोरिइरहेँ ।

नजिकै कोही आयो । उसको छाया मेरो अगाडि पर्‍यो । यताउता गरिरह्यो । वैशाखी टेकेको छाया जब देखेँ, त्यो समीर हो भन्ने अनुमान लगाएँ ।

ऊ केही बेरपछि मेरो नजिकै बस्यो र सोध्यो, ‘कसलाई कुर्दै हुनुहुन्छ ?’

म ऊतिर फर्किएँ । ऊ त मैले धेरै पहिले चिनेको कमरेड श्याम पो रहेछ ! म पनि उसले पहिल्यै चिनेको सविता थिएँ ।

श्यामले सोध्यो, ‘सविता, कताबाट आज यता आइपुग्यौ ?’

उसको प्रश्नलाई वास्तै नगरी मैले सोधेँ, ‘श्याम, के छ तिम्रो हालखबर ? धेरैपछि भेट भयो है ।’

उसले ‘हो त है’ भन्दै अगाडि भन्यो, ‘आज एकजना साथीलाई भेट्न झरेको, तिमीसँग भेट हुन लेखेको रहेछ ।’

श्यामले दायाँबायाँ हेर्दै भन्यो, ‘आइपुग्नुभएको रहेनछ कि !’

ऊ माओवादी भएर युद्ध लडेको मान्छे । उसले एउटा खुट्टा छापामार युद्ध लड्दा नै गुमाएको थियो । मलाई सबै थाहा थियो । मनमनै खुसी भएँ, कतै पूर्वपरिचित श्याम नै मेरो समीर हो रहेछ कि भनेर ।

उसको भूमिगत नाम समीर थियो । मैले याद गरेँ । उसको प्रोफाइल पिक्चर्समुनि लेखेको वाक्य सम्झिएँ, ‘मृत्युलाई जितेर फर्केको मान्छे’ । उसका कति साथी ऊसँगसँगै हिँड्दा छुटेका थिए । कतिका जोडी छुटेका थिए । उसको खुट्टा त्यहीक्रममा गुमेको हो ।

ऊ भूमिगत अवस्थामा हिँड्दा हाम्रो घरमा आइरहन्थ्यो । धेरैपटक उसलाई मैले भात पकाएर खुवाएकी थिएँ । आमासँग खुब कुरा मिल्थ्यो उसको । आउँदा प्रायः आमाकै वरपर हुन्थ्यो ।

त्यस बेला म सामान्य कुरा गर्थें र आफ्नो पढाइतिर लाग्थेँ । जनयुद्ध स्थगन भएपछि उसलाई भेटेको र उसको एउटा खुट्टा मैदानमा छुटेको कुरा आमाले गर्नुभएको थियो । त्यसपछि ऊसँग हाम्रो भेट भएन ।

मैले उसलाई हेरिरहेँ । ऊ आफ्नै सुरमा मोबाइल चलाइरह्यो । त्यसैबीच मेरो मोबाइलमा टुच्च मेसेज आयो । मेसेज समीरको थियो । छेउमै बसेर ऊ मलाई नै मेसेज गरिरहेको थियो ।

उसले मेसेज पठाउने अनि मैले मोबाइल हेर्नेक्रम त्यहाँ चलिरह्यो । अझै पनि ऊ सान्वीलाई कुरिरहेको थियो । तर, मैले समीरलाई भेटिसकेकी थिएँ । उसले पत्तो नै पाएन ।

‘बाह्र बजिसकेछ ! सविता, पानी छ तिमीसँग ?’ उसले पानी माग्यो । मैले ‘छ’ भन्दै दिएँ । अनि सोध्यो, ‘केमा व्यस्त छौ तिमी ?’

‘अहिले म सरकारी कर्मचारी हो नि !’ मैले पनि जवाफ दिएँ । हामीबीच सवालजवाफको सिलसिला केही बेर चलिरह्यो ।

यस्तैमा अकस्मात् समीरले सोध्यो, ‘तिम्रो कुनै अर्को नाम पनि छ र सविता ?’

‘किन र !’ प्रतिप्रश्न गरेँ ।

‘मलाई त अर्को नाम पनि छ कि जस्तो लाग्यो,’ श्यामले भन्यो ।

म सोसल मिडियामा सविता थिइनँ, सान्वी थिएँ । त्यसैले भनेँ, ‘के नाम छ जस्तो लाग्यो र ?’

ऊ अकमकायो । उसलाई नकुरी मैले भनेँ, ‘कतै सान्वी भन्न खोजेको त होइनौ ?’

‘हो सविता !’ यति भनेर उसले मलाई हेरिरह्यो ।

‘यतिका बेरसम्म तिमीले सान्वीलाई चिनेनौ ! सविता उर्फ सान्वी हाजिर छे तिम्रा अगाडि ।’

मेरो वाक्य पूरा हुनासाथ उसले मलाई गर्लम्म अँगालो हाल्यो ।

अँगालो अत्यन्तै प्रिय लाग्यो । आजसम्म मलाई यति प्रेमपूर्वक कसैले अँगालो हालेको थिएन ।

मेरो गालाको कालो दाग धेरैपहिले देखेको हो समीरले । तर, त्यो दागले उसलाई मलाई अँगाल्न रोकेन । ऊ विभोर बनिरह्यो । मलाई अँगालोमा कसिरह्यो । हामी शब्दविहीन बन्यौँ ।
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्