
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्तालाई अन्त्य गर्न लागिरहेको बताएका छन् ।
ट्रम्पले क्यानडाले अमेरिकी टेक कम्पनीहरूलाई निशाना बनाएर कर लगाउने तयारी गरिरहेकोले व्यापार वार्तालाई तत्काल अन्त्य गर्न लागेको बताएका छन् ।
अमेरिका र क्यानडा जुलाईको मध्यसम्म व्यापार सम्झौता टुग्याँउने दिशामा काम गरिरहेका बेला राष्ट्रपति ट्रम्पले यो कदम चालेका हुन् ।
यो वर्षको सुरुमा अमेरिकाको राष्ट्रपति पद सम्हालेपछि ट्रम्पले व्यापार युद्ध सुरु गरेका थिए । त्यसयता दुवै देशले एकअर्काको सामानमा कर लगउँदै आएका छन् ।
ट्रम्पले अर्को हप्ता नयाँ कर लगाउने घोषणा पनि गरेका छन् । ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “हामी क्यानडासँगको व्यापारमा सबै छलफललाई तत्काल अन्त्य गरिरहेका छौँ ।”
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँग वार्ता जारी राख्ने संकेत दिएका छन् । उनले भने, “हामी क्यानडेली जनताको हितमा यी वार्ताहरूलाई निरन्तरता दिनेछौँ ।” बीबीसी