
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा (एमाले) ‘ध्वस्त’ हुने सपना नदेख्न आग्रह गरेका छन् । केही विरोधीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्कने र उनले ‘बम’ पड्काउने आस गरेका ओलीले टिप्पणी गरे ।
जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा शनिबार (असार १४) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीमा कुनै बम, बारुद नपड्कने बताए ।
“विद्या भण्डारीले बम पड्काउनुहुन्छ, एमाले ध्वस्त हुन सुरु हुन्छ भन्ने सपना देखेर बसेका छन्,” एमाले अध्यक्ष ओलीले भने, “कुनै बम, बारुद, गोला पड्कनेवाला छैन, आस नगरे हुन्छ । आस पनि कस्ताकस्ता ?”
आफूहरूले मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जबज जपेर मात्र नबसेको र कार्यान्वयन गरिरहेको उनले बताए ।
यस दिन बिहान राष्ट्रिय युवा संघले काठमाडौंको चन्द्रगिरि नगरपालिका–१३ मा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो । ओली त्यहाँ उपस्थित र सम्बोधन गरेका थिए । त्यसबारे नकारात्मक टिप्पणी गरिएको भन्दै उनले आपत्ति जनाए ।
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको दिउँसोको यो कार्यक्रम भाँड्न बिहान वृक्षरोपण राखिएको कतिपयको टिप्पणी थियो । “वृक्षरोपणमा लागेको छ, यो कार्यक्रम भाँड्न वृक्षरोपण कार्यक्रम राखे भने,” उनले भने, “यो कार्यक्रम के भाँड्ने ? म आउने कार्यक्रम कसरी भाँडिन्छ ? विद्या भण्डारीजी आउने कार्यक्रम कसरी भाँडिन्छ ?”
कार्यक्रममा भण्डारीको पनि उपस्थिति छ ।