-1749797966.jpg)
काठमाडौं । देशका केही स्थानमा शनिबार (असार १४) बेलुका वर्षा भएको छ । हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लमजुङमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ । खुदीलगायत साना खोलामा आकस्मिक बहावको सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
“पछिल्लो एक घण्टामा लमजुङ जिल्लास्थित कुन्छा वर्षामापन केन्द्र र आसपासका केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने खुदी खोलालगायतका स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने रहेको र साथै कमजोर, भिरालो तथा पहिरोको जोखिम हुने क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाऔँ,” बेलुका ५ः३५ बजेको विभागको सूचनामा उल्लेख छ ।
प्युठानमा पनि हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ । थप वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
“असार १४ गते, दिउँसो ४ः३० बजे । पछिल्लो एक घण्टामा प्युठान जिल्लास्थित सेउलीबाङ वर्षामापन केन्द्र र आसपासका केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने रहेकोले आवश्यक सतर्कता अपनाऔँ,” सूचनामा भनिएको छ ।
शनिबार (असार १४) साँझदेखि सोमबार (असार १६) बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाका धेरै भारी वर्षाको पूर्वानुमान छ ।