-1749797960.jpg)
काठमाडौं । मौसमविद्ले पश्चिम नेपालमा ‘भीषण’सम्म वर्षाको सम्भावना औँल्याएका छन् । आइतबार (असार १५)देखि सोमबार (असार १६)सम्म त्यस्तो सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले उल्लेख गरेका छन् ।
शनिबार (असार १४) बेलुका उनले सामाजिक सञ्जालमा लेखेका छन्, “भोलि बेलुकादेखि सोमबारसम्म पश्चिम नेपालमा भारीदेखि भीषण वर्षाको सम्भावना रहेको छ ।”
सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सावधानी अपनाउन उनले सुझाव दिएका छन् । “सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सावधानी अपनाउनुहोला,” उनले भनेका छन्, “सकभर यात्रा नगर्नुहोला भोलि बेलुका र पर्सि ।”
यद्यपि, आजको पूर्वानुमानमा भीषण वर्षा भारततिर हुने देखिएको उनले स्पष्ट पारेका छन् ।
पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि भारी वर्षाको सम्भावना औँल्याउँदै आउँदो सोमबारसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन् । नदी वरपर र पहिरो जोखिम क्षेत्रमा विशेष ध्यान पुर्याउन उनले आग्रह गरेका छन् ।
नेपालमा मौसम पूर्वानुमान गर्ने आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि सोमबार बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा ‘धेरै भारी’ वर्षाको सम्भावना औँल्याएको छ ।