
काठमाडौं । अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुख खोलेकी छन् । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसर पारेर शनिबार (असार १४) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले आफू सक्रिय राजनीतिमा होमिएको घोषणा गरिन् ।
उनले आफू पुनः नेकपा (एमाले)को सदस्य बनेकी जानकारी गराइन् । “...वास्तवमा त्यस बेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरिसकेकै थिएँ । फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,” उनले भनिन् । त्योसँगै हल ताली र हुटिङले गुन्जियो ।
उनले देश र जनताको हित नै आफ्नो लक्ष्य रहेको सुनाइन् । “अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्त्वाकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो,” उनले भनिन् ।
एमालेका पूर्वउपाध्यक्ष भण्डारीले १० वर्षपछि पार्टीमा औपचारिक पुनरागमन गरेकी हुन् । उनी एमालेबाट राजीनामा दिएर सात वर्ष राष्ट्रपति पदमा रहिन् ।
०७२ कात्तिक ११ गते उनी पहिलोपल्ट राष्ट्रपति बनेकी थिइन् । ०७४ फागुन २९ गते दोस्रो कार्यकालका निम्ति राष्ट्रपति चुनिइन् ।
भण्डारी ०७९ फागुन २९ गते शीतलनिवासबाट बाहिरिएकी थिइन् । त्यसयता उनले देशका विभिन्न ठाउँमा कार्यकर्ता भेटघाट, छलफल, भ्रमण गरेकी थिइन् । उनले आफ्नो भ्रमणको निष्कर्ष सुनाइन्, “सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो । त्यसैले यस गहन दायित्वलाई सबैले वहन गर्न अग्रसर हुनैपर्दछ ।”
उनले राजनीतिमा थकान भन्ने शब्दावली हुँदैन भन्ने मदन भण्डारी (श्रीमान्)को भनाइ स्मरण गरिन् । र, राजनीतिमा सक्रिय भएको घोषणा गरिन् ।
उषासँग गफिए ओली
तिक्तताका चर्चाबीच प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र भण्डारी एउटै मञ्चमा देखिए । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ओली प्रमुख अतिथि थिए । भण्डारी विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन् । उनीहरूका कुुुर्सीअगाडि एउटा मात्र टेबल थियो ।
छुट्टै टेबल राखिएको अर्कोतिर एउटा कुर्सीमा फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारी थिइन् । अर्को टेबलमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल थिए । तर, नजिकै रहेका ओली र विद्याले एकछिन मात्र कानेखुसी गरे । बरु, ओली तन्किएर अलि पर रहेकी उषाकिरण (मदन–विद्याकी छोरी)सँग गफिए । विद्या कार्यक्रम अवधिभर निकै गम्भीर मुद्रामा देखिइन् ।
ओलीलाई सुनाउने विद्याको चाहना भएन पूरा
विद्याले आफ्ना कुरा ओलीलाई त्यहीँअगाडि नै सुनाउन चाहेकी थिइन् । तर, शनिबारै ओली स्पेन भ्रमणमा जाने कार्यक्रम थियो । त्यसैले उनले पहिले बोले । उनले आफ्नो भनाइ राख्ने क्रममा विद्याले सुन्न आग्रह गरेको जानकारी गराए ।
आफ्नो भ्रमणका कारण छिटै बोलेको र विद्याको कुरा सुन्न नपाएको उनले बताए । “राम्रै बोल्नुहुन्छ, थाहा छ । आज मात्रै होइन, सुन्दै आएको हो,” विद्यालाई ओलीले जवाफ दिएका थिए । आफ्नो भनाइ राखेर ओली त्यहाँबाट बाहिरिए ।
ओलीलाई ईश्वरको काउन्टर !
असार १४ मा विद्याले विशेष घोषणा गर्न लागेको चर्चा सामाजिक सञ्जालमा छ्यापछ्याप्ती थियो । विद्यानिकट नेताले पनि घोषणा हुुने बताइरहेका थिए । ओलीले बोल्ने क्रममा विद्याले ‘बम’ पड्काउने सपना केहीले देखेको भन्दै त्यो पूरा नहुने बताए । एमाले एकताबद्ध रहेको उनको भनाइ थियो ।
“विद्या भण्डारीले बम पड्काउनुहुन्छ, एमाले ध्वस्त हुन सुरु हुन्छ भन्ने सपना देखेर बसेका छन्,” ओलीले भने, “कुनै बम, बारुद, गोला पड्कनेवाला छैन, आस नगरे हुन्छ । आस पनि कस्ताकस्ता ?”
उनले शनिबारै बिहान आफूले वृक्षरोपण आयोजना गराउँदा फाउन्डेसनको यो कार्यक्रम भाँड्न खोजेको चर्चा गरिएको भन्दै असन्तुष्टि जनाए । ओलीले ‘विस्फोट’ भनिरहँदा त्यसको जवाफ भने वरिष्ठ उपाध्यक्ष पोखरेलले दिए ।
पार्टीको असन्तुष्टिलाई बेवास्ता गरिए ‘विस्फोट’ हुन सक्ने पोखरेलको चेतावनी थियो । “द्वन्द्वलाई विधिसम्मत ढंगले प्रकट हुन दिनुपर्छ । राजनीतिक दलमा द्वन्द्व भए विधिसम्मत ढंगले प्रकट हुन नपाए एक चरणसम्म असन्तुष्टि होला, असन्तुष्टि एक ठाउँमा पुगेर विस्फोट हुन्छ,” पोखरेलको जवाफ थियो ।
उनले पार्टीमा विग्रह गर्नेलाई मात्र दोष दिएर नहुने टिप्पणी गरे । पटक–पटक उनले पार्टी लोकतान्त्रिकरणमा जोड दिए ।
“सातौँ महाधिवेशन ०५९ सालमा भयो । लोकतान्त्रिकरणको बहस गर्यौं । त्यति बेला उहाँको विचार इन्ट्री पाएन । कार्यदलले सर्वसम्मतिले लोकतान्त्रिकरणको प्रस्ताव अघि बढायो । बहुपदीय संगठन संरचनाको प्रारम्भ भयो, त्यसको अगुवाइ केपी ओलीले गर्नुभएको थियो,” उनले भने ।
एमाले र माओवादी एकतामा विचार कमजोर भएको र पार्टी जीवनको लोकतान्त्रिकरण बिलाएको उनले गुनासो गरे ।
७० वर्षे उमेरहद चर्काउने तयारी
पार्टीमा ७० वर्षे उमेरहदको प्रावधान हटाउने पक्षमा संस्थापन देखिन्छ । आउँदो भदौ २०–२२ गतेका निम्ति तय विधान महाधिवेशनमा यसअघि सचिवालय बैठकबाट निलम्बन गरेर केन्द्रीय कमिटीले गरेको त्यो अनुमोदनलाई निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ । पार्टीमा नेकपा (एकीकृत समाजवादी)का नेतासहित केहीलाई भित्र्याउन भन्दै निलम्बन गरिएको प्रावधानलाई विधानमा नराखिने योजनाप्रति पोखरेलले असन्तुष्टि जनाए ।
उनले ७० वर्षे उमेरहदको प्रावधान तलमाथि गर्न नपाइने चेतावनी दिँदै भने, “कुनै झ्वाँकमा राखिएको थिएन ।”
उनी एक पदमा दुईपटकभन्दा बढी बस्न नपाइने विधानको व्यवस्थालाई पनि निरन्तरता दिनुपर्ने पक्षमा सुनिए । भण्डारीनिकट नेताहरू उक्त प्रावधान विधानमा कायम राख्नुपर्ने विषयलाई चर्को रूपमा उठाउने तयारीमा छन् । त्यो प्रावधान राखिए भण्डारीलाई आउँदो महाधिवेशनमा अध्यक्ष बनाउन सहज हुने नेताहरू बताउँछन् । भण्डारी पार्टीमा सक्रिय हुनु नै आउँदो महाधिवेशनबाट अध्यक्ष बन्न चाहेको सन्देश दिएको नेताहरूको भनाइ छ ।