
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आज पनि बैठक कक्षबाट बाहिरिएका हुन् ।
उनीहरू आफ्ना कुराहरू राखेर बाहिरिएका हुन् ।
त्यसअघि, रास्वपाका उपसभापति एवं सांसद डीपी अर्यालले सुमिरे टुर एन्ड ड्राभल्ससम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।
“सुमिरे टुर एन्ड ड्राभल्स मेरो हो । मेरो समय ठिक चलेको छ । अरूको घडी बिग्रिएको छ भने के भनौँ,” अर्यालले भने, “कसैको निराधार आरोप संसद्को रेकर्डबाट हटिनुपर्छ ।”
शनिबार (असार १४) बैठकमा खतिवडाले सुमिरेले भिजिट भिसाका नाममा बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका थिए ।
बैठकमा खतिवडाले पनि अर्यालले यसअघि बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । “कुनै माननीय सदस्यको नाम लिएको थिएन । चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा उचालियो, यस्ता शब्द रेकर्डबाट हटाइयोस्,” खतिवडाले भने ।
पहिले अर्यालले बोल्ने समय पाएका थिए । उनले बोल्दा नियमापत्ति जनाउँदै खतिवडाले बोलेका हुन् ।
त्यसपछि राप्रपाबाट प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोल्न समय पाएका थिए । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न नै जोड दिएका थिए ।