
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डीपी अर्यालले सुमिरे टुर एन्ड ड्राभल्ससम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (असार १५) संसद् बैठकमा उनले सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको उक्त अभिव्यक्ति हटाउन माग गरेका हुन् ।
शनिबार (असार १४) बैठकमा खतिवडाले सुमिरेले भिजिट भिसाका नाममा बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका थिए । “सुमिरे टुर एन्ड ड्राभल्स मेरो हो । मेरो समय ठिक चलेको छ । अरूको घडी बिग्रिएको छ भने के भनौँ,” अर्यालले भने, “कसैको निराधार आरोप संसद्को रेकर्डबाट हटिनुपर्छ ।”
बैठकमा खतिवडाले पनि अर्यालले यसअघि बोलेको ‘चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा उचालियो’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । “कुनै माननीय सदस्यको नाम लिएको थिएन । चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा उचालियो, यस्ता शब्द रेकर्डबाट हटाइयोस्,” खतिवडाले भने ।
पहिले अर्यालले बोल्ने समय पाएका थिए । उनले बोल्दा नियमापत्ति जनाउँदै खतिवडाले बोलेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले भने अर्याल र खतिवडा दुवैका उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । चोर चन्ने अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।