site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डीपी अर्याल र रामहरि खतिवडाबीच चर्काचर्की, रेकर्डबाट अभिव्यक्ति हटाउन दुवैको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस र रास्वपाका सांसदहरुबीच चर्काचर्की भएको छ । कांग्रेसका सांसद रामहरि खतिवडाले शनिबार उठाएको विषयलाई लिएर रास्वपाका सांसद डीपी अर्यालले आपत्ति जनाएका थिए ।

खतिवडाले शनिबार संसद् बैठकमा सुमिरे ट्राभल्सले पैसा लिएर जापान भिजिट भिसामा पठाउने गरेको र कैयौँको विचल्ली पारेको बताएका थिए ।

उक्त ट्राभल्स रास्वपा उपसभापति अर्यालको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आजको बैठकको सुरुमै सभामुखसँग समय लिएर अर्याल खतिवडामाथि खनिए र शनिबार दिएका अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

“मलाई दया लाग्छ सभामुख महोदय २०४८–४९ तिर कोही मन्त्रीका पीए बसेर सरकारी कागजात किर्ते गरेर मान्छे विदेश पठाएवापत हनुमान ढोकामा चिसो सिँढीमा बिताएका पनि यहीँ सांसद भएर बसेका छन्,” अर्यालको भनाइ थियो, “भिसा पाए भने आफैं टाप कस्लान् । म गर्वका साथ भन्छु सुमिरे ट्राभल्स मेरो कम्पनी हो । म यही देशमा केही गरेर खाने मान्छे हुँ चोरेर खाने मान्छे होइन ।”

उनले खतिवडालाई व्यङ्ग्य गर्दै घडीको प्रसंग पनि निकाले ।

“मेरो समय ठिकै चलेको छ अरुको घडी बिग्रेको छ भने के भनौँ । मेरो कम्पनीबाट पैसा लिएर गएर फर्किएका छन् भने प्रमाण दिनू,” उनले भने, “कसैको सचिवालय चल्ने स्रोत घट्यो होला, कसैको जिल्लाको कर्मचारी पर्‍यो भनेर हामी पछि हट्दैनौँ ।”

अर्याल बोलिरहँदा कांग्रेस सांसद खतिवडासहित कैयौँ सांसदहरु उभिएका थिए ।

खतिवडाले पनि कसैको नाम नलिएको भए पनि ‘चोरको खुट्टा काट् भन्दा खुट्टा अघि सारेको’ भन्दै अर्यालको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

“केही माननीय सदस्यको अभिव्यक्ति सुन्न पाइयो । हामीले कसैको नाम लिएका छैनौँ । चोरको खुट्टा काट् भन्दा अघि सारेको जस्तो किन गरेको ? किन ठूलो डाँको स्वरले संसद् थर्काउने ? हामी अदालतबाट निर्दोष भएर आएका हौँ । दोषी मान्छे कराउँदा हामीलाई आपत्ति छ । यस्ता कुरा रेकर्डबाट हटाउन लागि अनुरोध गर्दछु ।”

दुवै पक्षका सांसदहरु चर्काचर्कीमा उत्रिएपछि सभामुख देवराज घिमिरले जिम्मेवारीपूर्ण अभिव्यक्ति दिन अनुरोध गरे ।

“सदस्यहरु जिम्मेवारीपूर्ण ढंगले अभिव्यक्ति दिनुहुन्छ भन्ने विश्वास गर्नुपर्छ,” सभामुखको भनाइ थियो, “चाहे माथिबाट बोल्दा होस् या तलबाट जिम्मेवारीपूर्वक बोल्नुपर्छ । राष्ट्रको गरिमा बढाउने खालको हुनुपर्छ । बोलेको कुरा संसदीय अभ्यासअनुसार गैर संसदीय भाषा र एक अर्कालाई किटेर बोल्ने कुरा रेकर्डबाट हटाउने परम्परा छ ।”
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्