
काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित निकालेको छ । आइतबार क्वालालम्पुरस्थित सेलेंगार टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियामाथि सानदार जित निकालेको हो ।
नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसियाले २४.३ ओभरमा ५० रनमात्र बनाउन सक्यो ।
टस जितेर इन्डोनेसियाले फिल्डङको निर्णय लिएपछि ब्याटिङ आएको नेपालले पाँच विकेटको क्षतिमा ४२० रन बनाएको थियो ।
नेपालका जितमा प्रसिद्ध जैशीले शतकीय पारी खेले । उनले ११४ बलमा १५ चौका र एक छक्कासहित १३२ रन बनाए ।
रौनक श्रिवास्तवले ८८ रन बनाए । यस्तै, परिमार्जन यादवले ७१ रन र जोय थापाले ५७ रन जोडे ।
इन्डोनेसियाका केटुट दर्मा पुत्रले दुई विकेट लिए । रायान रिजा अथल्ला, महेन्द्र अजी युदा प्रातमा र केभिन निरज चड्डाले समान एक–एक विकेट लिए ।
जवाफी ब्याटिङमा आएको इन्डोनेसियाका लागि केभिन निरज चड्डाले सर्वाधिक १५ रन बनाए । डेभिट निन्दाले १४ रन जोडे । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका विपीन शर्माले ६ विकेट लिए । उनले ७.३ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिएका हुन् । सुभम खनाल, सुगम बुढाथोकी र सचिन भट्टले समान एक–एक विकेट लिए ।
प्रतियोगिातामा नेपालले तीन खेल खेल्दा शतप्रतिशत जित निकाल्दै ६ अंक जोडेको छ ।
प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता छ । समूह ‘ए’मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । नेपाल हालसम्म सम्पन्न तीन संस्करणको च्याम्पियन हो ।
नेपालले अब समूह चरणको चौथो खेलमा असार १७ गते भुटानसँग खेल्नेछ ।