
काठमाडौं । रूसले युक्रेनमा युद्ध सुरु भएयताकै आफ्नो सबैभन्दा ठूलो हवाई आक्रमण र बमबारी गरेको एक युक्रेनी अधिकारीले आइतबार बताएका छन् ।
आक्रमणका कारण तीन वर्ष पुरानो युद्ध अन्त्य गर्ने प्रयासलाई थप कमजोर पारेको छ । समाचार संस्था एपीका अनुसार, रूसले युक्रेनमा कुल ५३७ ड्रोन र मिसाइल प्रहार गरेकोमा ४७७ ड्रोन र ६० मिसाइलहरू समावेश रहेको युक्रेनको वायु सेनाले बताएको छ । यीमध्ये २४९ वटा खसालिएका र २२६ इलेक्ट्रोनिक ज्यामिङको कारण हराएका बताइएको छ ।
प्रहार गरिएका ड्रोन र विभिन्न प्रकारका मिसाइलहरूको आधारमा यो हमला फेब्रुअरी २०२२ मा रूसको पूर्ण–स्तरीय आक्रमण सुरू भएयता देशमाथिको सबैभन्दा ठूलो हवाई आक्रमण भएको युक्रेनको वायु सेनाका सञ्चार प्रमुख युरिय इहनाटले द एसोसिएटेड प्रेसलाई बताए । यो आक्रमणले पश्चिमी युक्रेनसहित धेरै क्षेत्रहरूलाई निसाना बनाएको बताइएको छ ।
पोल्यान्ड र सहयोगी देशहरूले त्यहाँको हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्न विमानहरू तैनाथ गरेको पोल्यान्डको वायु सेनाले बतायो ।
यसैबीच खेर्सन क्षेत्रमा ड्रोन हमलामा एकजनाको मृत्यु भएको गभर्नर ओलेक्सान्दर प्रोकुदिनले बताएका छन् । खार्किभ क्षेत्रमा ड्रोन कारमा ठोक्किँदा अर्का एकजनाको मृत्यु भएको गभर्नर ओलेह सिनिएहुबोभले बताए । चेर्कासीमा बालबालिकासहित ६ जना घाइते भएका क्षेत्रीय गभर्नर इहोर ताबुरेत्सले बताए ।
सुदूर–पश्चिमी लिभभ क्षेत्रमा, ड्रोहोबिच सहरमा ड्रोन हमलापछि एक औद्योगिक केन्द्रमा ठूलो आगलागी भएको छ, जसले स हरको केही भागमा बिजुली आपूर्ति अवरुद्ध गरेको थियो ।
युक्रेनको वायु सेनाले उसका पश्चिमी साझेदारहरूले आपूर्ति गरेको एफ–१६ युद्धविमानमध्ये हवाई निसाना खसाल्ने क्रममा क्षति भएपछि दुर्घटनाग्रस्त भएको र पाइलटको मृत्यु भएकाे थियो ।