
काठमाडौं । द वेस्टमिन्स्टर कलेजले ‘पब्जी मोबाइल क्याम्पस क्लब नेपाल (पीएमसीसी), २०२५’ को उपाधि जितेको छ । पहिलोपटक आयोजित नेपालको क्याम्पसस्तरीय ई–स्पोर्ट्स प्रतियोगितामा द वेस्टमिन्स्टरले उपाधि आफ्नो नाममा गरेको हो ।
पब्जी मोबाइल नेपालले आयोजना गरेको पहिलो संस्करणको खेलमा वेस्टमिन्स्टरले उत्कृष्ट प्रदर्शन गर्दै सबै प्रतिस्पर्धी कलेजलाई पछि पार्दै उपाधि जितेको हो ।
प्रतियोगिताको ग्रान्ड फाइनल काठमाडौंस्थित द ब्रिटिस कलेजको हलमा सम्पन्न भएको थियो । जसमा काठमाडौंका १६ प्रतिष्ठित कलेजले सहभागिता जनाएका थिए ।
सहभागी कलेजमा ग्लोबल कलेज अफ टुरिज्म एन्ड हस्पिटालिटी, पाटन कलेज फर प्रोफेसनल स्टडिज, प्रेसिडेन्सियल कलेज, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी, काष्ठमण्डप कलेज, काठमाडौं युनिफाइड सिटी कलेज, काठमाडौँ मोडल कलेज, सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्स, मदन भण्डारी मेमोरियल कलेज, एडभान्स कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्ट, एसीएमई इन्जिनियरिङ कलेज, किंग्स कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, द ब्रिटिस कलेज र विजेता वेस्टमिन्स्टर कलेज थिए ।
वेस्टमिन्स्टर कलेजले पाँच खेलमा ११० अंक जोड्दै उपाधिसहित ७० हजार रुपैयाँ नगद पुरस्कार जितेको हो । वेस्टमिन्स्टरले तीन खेलमा ‘विनर विनर चिकेन डिनर’ समेत हात पारेको थियो । साथै, सोही कलेजका खेलाडी डब्लूडी क्रिस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगितामा मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीले ५५ अंकसहित उपविजेता स्थान हासिल गर्दै दोस्रो स्थानमा रहँदा आयोजक द ब्रिटिस कलेजले ४५ अंक जोड्दै तेस्रो स्थान हासिल गर्यो ।
व्यक्तिगत विधातर्फ प्रेसिडेन्सियल कलेजका सजेस श्रेष्ठले ‘क्याम्पस एम्ब्यासडर’को उपाधि जित्दै नगद २५ हजार रुपैयाँ प्राप्त गरे । मोडल इन्स्टिच्युटका पेमा लामाले दोस्रो स्थानमा रहँदै १५ हजार रुपैयाँ जिते भने सफ्टवेरिका कलेजका सुशान बडेलले तेस्रो स्थान हात पार्दै १० हजार रुपैयाँ प्राप्त गरे ।
ई–स्पोट्र्सको बढ्दो लोकप्रियताबीच आयोजित यस प्रकारको क्याम्पस प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनात्मकता, समन्वय र रणनीतिक सोचको विकासमा सकारात्मक योगदान दिने विश्वास गरिएको छ ।