
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानी जिम्मेवारी सावित्रा भण्डारी (साम्बा) ले पाएकी छन् ।
नेपाली राष्ट्रिय टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले आइतबार एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँगको खेलअघि सावित्रालाई यो जिम्मेवारी सुम्पिदै पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । योसँगै सावित्रा नेपाली महिला टिमको इतिहासमा कप्तानी सम्हाल्ने ११औँ खेलाडी बनेकी छन् ।
लाओसविरुद्ध खेल्ने नेपालको सुरुआती–११ मा यसअघि नियमित कप्तान रहेकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले स्थान बनाउन सकिनन् । उनको स्थानमा अञ्जना पहिलो रोजाइमा उत्रिएकी छन् ।
छनोटमा नेपाली टिम समूह ‘एफ’ मा छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । नेपालले छनोटको पहिलो खेलमा जुन २९ मा लाओससँग खेल्नेछ ।
यस्तै, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यस समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ ।