
विराटनगर । नेकपा (माओवादी केन्द्र)का सांसदले गीत गाउँदै कोसी प्रदेश सरकारसमक्ष प्रश्न तेर्साएका छन् । किसानहरू अहिले मध्यअसारमा पनि मलबीउ नपाएर समस्यामा रहेको सांसद गोम्बु शेर्पाले बताए ।
कोसी प्रदेशसभाको सोमबार बसेको बैठकमा गीत गाउँदै शेर्पाले किसानका समस्याबारे जानकारी गराएका हुन् । हामी सबैलाई अन्न उत्पादन गरेर पाल्ने, पालनाकर्ता र परिश्रमी तथा मेहनती किसान भएको भन्दै उनले किसानहरू असारमा समेत पीडित भएको बताए ।
उनले भने, “खेतबारीमा हुनुपर्ने किसान असारको माझमा मल गोदामको अगाडि, कृषि कार्यालयको अगाडि घन्टौसम्म लाइन बस्नु परेको छ । तैपनि मल नपाएर हैरान छन् ।” सरकारले किन मलबीउ समयमै दिन नसकेको भन्दै यो असक्षमता कहिलेसम्म ? भन्दै प्रश्न गरे ।
उनले सरकारले के गरिरहेको छ ? भन्दै कोसी सरकारको ध्यानाकर्षण गराए । किसानको पीडा र सरकारको गैरजिम्मेवारपन हेर्दा गीत गाउन मन लागेको भन्दै उनले सदनमै गीत गाए । “हो हो सरकार हो, मलबीउ चाहियो हो,” उनले यसरी गीत गाएका थिए ।
शेर्पाले यसअघिको सदनमा मुख्यमन्त्रीको एउटा पोखरीमा हरेक वर्ष करोडौँ बजेट हालिएको भन्दै गीत गाएरै कटाक्ष गरेका थिए ।