
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले ‘कुलिङ पिरियड’मा गरिएको चलखेल क्षम्य गर्न लायक नरहेको बताएका छन् । मंगलबार (असार १७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
हाल राजनीति गर्ने नभई गन्धा खेल खेल्ने कार्य भइरहेको उनले टिप्पणी गरे । संसदीय समितिबाट सर्वसम्मत पारित गरिएको विषय संसद्मा पुग्दा हेरफेर हुनु अक्षम्य अपराध भएको उनले बताए ।
“राजनीति केही छँदै छैन भने पनि हुन्छ । हामी कति गन्धा खेल खेलिरहेका रहेछौँ भने तपाईंको संसद्को समितिबाट सर्वसम्मतबाट पास हुन्छ, संसद्मा आउँदा त्यहाँ हेरफेर हुन्छ,” उनले भने, “त्यो त सरासर भन्नुपर्दा आपराधिक काम हो ।”
गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरे । “को दोषी हो त्यो भन्न सकिँदैन । तर, जो पनि दोषी हुन्, तिनीहरूलाई कुनै पनि हालतले क्षम्य गर्न हुँदैन,” उनले भने, “यसरी गर्न थालियो भने देश कता जान्छ ?”
कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अरू कुनै नियुक्ति लिन नपाउने कानुनमै व्यवस्था गर्न प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा सर्वसम्मति भएको थियो । तर, प्रतिनिधिसभाबाट पारित गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति लिन पाउने व्यवस्था गरिएको छ । यो कार्यको चौतर्फी आलोचना भइरहेको छ ।
“हामीले राजनीतिक गरिरहेका छैनौँ । राजनीति गर्ने क्रममा अलिकति पनि निष्ठावान् भएको भए यस्तो काम हुँदैन थिए,” सांसद कोइरालाले भने, “गल्ती होइन, यो अपराध हो ।”
नेपालका राजनीतिज्ञ ठिक नभएको उनले टिप्पणी गरे । राजनीति ठिक हुन जरुरी रहेकामा उनले जोड दिए । न्युज एजेन्सी नेपाल