
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडमा भएको तोडमोडबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सर्वसम्मतिले लामो छलफल र बहसपछि निर्णय गरेको विषय तोडमोड गरिनु गम्भीर भएको उल्लेख गरे । समितिबाट एउटा कुरा पारित हुने र सदनमा पुग्दा अर्को हुने कुरा संसदीय इतिहासमै पहिलोपटक भएको बताए । यो विषय अक्षम्य रहेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गरे ।
"हामीले सर्वसम्मतिले लामो छलफल र बहसपछि निर्णय गरेको विषय हो, कुलिङ पिरियड दुई वर्षको राख्ने विषय । कुलिङ पिरियड राख्ने भनेर सर्वसम्मतिले पारित गरिसकेको विषय राज्यव्यवस्था तथा सुशासन समितिको डकुमेन्टले त्यही बोल्छ । तर प्रतिनिधिसभामा पुगेर पास गर्दा बीचमा तोडमोड भएको सबैभन्दा हट डिभेड भएको विषयलाई नै उल्ट्याइएको फरक ढंगले प्रस्तुत गरिएको विषय अत्यन्त गम्भीर छ," उनले भने, "यो गम्भीर छ । यो अक्षम्य गल्तीको छानबिन गरेर दोषीलाई कारबाही नै गर्नुपर्छ ।"
महामन्त्री शर्माले कुलिङ पिरियड राष्ट्रियसभाले सच्याउनुपर्ने बताए ।