
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले ‘कुलिङ पिरियड’मा विश्वासघात गरिएको भन्दै छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ । केन्द्रीय कार्यसमिति बैठकका क्रममा मंगलबार (असार १७) पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
कुलिङ पिरियड राख्नैपर्ने भन्ने आफूहरूको धारणा रहेको उनले स्पष्ट पारे । तर, पदको दुरुपयोग गरेर काम गरिएको भन्दै उनले छानबिन हुनुपर्ने बताए ।
“कुलिङ पिरियड राख्नुपर्छ नै भन्ने हाम्रो धारणा हो । त्यही हुनाले सर्वसम्मतिबाट कुलिङ पिरियड राखियो भनेर निर्णय गरियो भनियो,” उनले भने, “त्यही विश्वासमा सायद फुल हाउसमा माननीय सदस्य साथीहरूले दफावार पढ्नु भएन । विश्वासघात भयो ।”
उक्त प्रकरणमा कांग्रेसले छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । “जसले त्यहाँ पदको दुरुपयोग गरेको छ, अवश्य पनि उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्छ,” उनले भने, “तत्काल कुलिङ पिरियड हटाएर प्रस्तावित भएको छ, सरकारले सच्याएर संशोधन गर्नुपर्छ । दोषीलाई छानबिन गरी कारबाही गर्नुपर्छ ।” न्युज एजेन्सी नेपाल