
काठमाडौं । नेपाली कांगेसका महामन्त्री तथा सांसद गगन थापाले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी निर्णय सर्वसम्मतिबाट भएको भन्दै त्यसलाई चलाउने काम अक्षम्य अपराध भएको बताएका छन् ।
पार्टी केन्द्रीय समिति बैठक जारी रहँदा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले आफूखुसी गर्नेलाई कारबाहीसँगै ‘कुलिङ अफ पिरियड’ पनि राख्नुपर्ने बताए । “निजामती विधेयकमा कुलिङ अफ पिरियड राख्ने आम सहमति हो । राज्यव्यवस्था समितिमा उपसमितिको प्रतिवेदनपछि अन्तिम वक्ता सायद म नै हुँ,” थापाले भने, “समितिमा भएका सहमति लिपिबद्ध गर्ने काम सचिवालयको हो । त्यसकै लागि सचिवालय राखिएको हुन्छ । कसले चलायो छानबिनका लागि सभामुखले तत्काल समिति गठन गर्नुपर्छ ।”
संसदीय सर्वोच्चतालाई चुनौती दिनेगरी कहिँ कतैबाट चलखेल भएको भए पहिचान गरी त्यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ । थापाले सिंगो सदनलाई झुक्याउने काम भएको भन्दै त्यो काम त्रुटिबस भएको भए पनि कारबाहीबाट भने उन्मुक्ति नहुने बताए । “त्रुटिबस गल्ती भएको हो भने पनि सिंगो सदनको सहमतिलाई उल्लंघन गर्ने काम त भएकै छ । त्यसकारण कारबाही हुनुपर्छ,” थापाले भने, “यसलाई षडयन्त्रपूर्ण रूपमा छिराइएको छ भने त जुनसुकै तहबाट भएको होस् कडा कारबाही गरी भविष्यमा यस्तो नहुने वातावरण बनाउनै पर्छ ।”
थापाले समितिका सदस्य र सांसदहरूले पनि विधेयकमा भएका सहमति पालना भएका छन् भन्ने विश्वासमा पास गर्ने अभ्यासमा पुरर्विचार गर्ने पाठ यो घटनाले सिकाएको बताए । “हामी सांसदहरूले पनि समितिमा वा अन्यत्र गरिएको सहमति प्रतिवेदनमा छन् भन्ने आधारमा सहमति दिने काम बन्द गरी प्रत्येक लाइन पढेर मात्र समर्थन दिने काम गर्नुपर्छ भन्ने पाठ यो घटनाले सिकाएको छ,” थापाले भने, “अब सहमति भएकै छ त्यहीअनुसार भयो होला भनेर मान्न र विश्वास गर्न सकिने अवस्था रहेन ।”