
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री आफैँ रहेको भन्दै डा. मुकुल ढकालले दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।
मंगलबार न्यायाधीशहरू हरि फुयाल र टेकप्रसाद ढुंगानाको इजलासको पेसीसूचीमा १८औँ नम्बरमा परेको उक्त रिट ‘हेर्न नभ्याइने’मा परेको हो । सर्वोच्चले डा. मुकुलकोे रिटलाई यही असार २५ गतेको अर्को पेसी तोकिदिएको छ । यही असार १२ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले रास्वपा र निर्वाचन आयोगलाई कारण देखाउ आदेश जारी गरी अन्तरिम आदेश छलफलका लागि मंगलबारको पेसी तोकेको थियो ।
निर्वाचन आयोगलाई भने डा. मुकुललाई रास्वपाको पदाधिकारीसहितको केन्द्रीय समितिको अद्यावधिक विवरण दिएको पत्रसहित उपस्थित हुन आदेश गरेको छ ।
रास्वपालाई भने डा. मुकुलको मागबमोजिमको आदेश गर्नुनपर्ने कारण भए १५ दिनभित्र लिखित रूपमा पेस गर्न कारण देखाउ आदेश जारी गरेको थियो ।