site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक अर्ब ३१ करोड भ्याट छली आरोपमा विराटनगरका हार्डवेयर व्यवसायी कारागार चलान

विराटनगर । मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका एक हार्डवेयर व्यवसायी सौरभकुमार बियानी कारागार चलान गरिएको छ ।

‘न्यू सौरभ ट्रेडिङ’ र ‘बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्वल’का प्रोपाइटर बियानीले एक अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कर छली गरेको आन्तरिक राजस्व कार्यालय, विराटनगरले जनाएको छ । कार्यालयले असार १६ गते बियानीको नाममा थुनुवा पुर्जी जारी गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराटनगर–१० घर भई हाल हाटखोला (वडा ७) बसोबास गर्दै आएका बियानीले विराटनगर–३ मा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

राजस्व कार्यालयका कर अधिकृत भवानीप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रअनुसार बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम ठगी गरेको पुष्टि भएको हो ।

अनुसन्धानको क्रममा बियानीले कुल एक अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५८४ रुपैयाँ बराबरको कर छली गरेको प्रमाण भेटिएको कार्यालयले जनाएको छ । सो रकम बराबरको धरौटी नगद वा जमानत पेस गर्न नसकेपछि उनलाई उक्त ऐनको दफा २३(घ) बमोजिम अर्को आदेश नआएसम्मका लागि थुनामा राख्न मोरङ कारागारलाई पत्राचार गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्