site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार प्रभावकारी हुन सकेन, सातबुँदे सहमति पालना भएन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकार प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् । 

केन्द्रीय समितिको मंगलबारको बैठकमा बोल्ने केन्द्रीय समितिका सदस्यहरूले सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै सरकारको कार्यक्षमतामाथि नै प्रश्न गरेका हुन् । सरकार सातबुँदे सहमतिअनुसार अघि बढ्न नसकेको कांग्रेसका केन्द्रीय सदस्यहरूको निष्कर्ष छ । 

संविधान संशोधनको मुद्दामा अहिले संशोधन भइरहेको भए पनि अन्य सवालमा सरकारले प्रभावकारी बन्न नसकेको कांग्रेस नेताहरूको भनाइ छ । उनीहरूले सरकारले गरेका कमजोरीहरूलाई सच्याउन सुझाव दिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सत्ता गठबन्धनभित्र कांग्रेसका पहिचान कम देखिएको भन्दै प्रश्न उठेको बताए । उनले यथास्थितिबाट कांग्रेसले गति लिन नसक्ने उल्लेख गरे । पार्टीलाई नेताप्रधान नभइ नीतिप्रधान बनाउनुपर्ने माग गरे । “सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसको पहिचान देखिन कम भयो भन्ने छ । त्यो अभिव्यक्ति केन्द्रीय समितिमा पनि आएको छ । यथास्थितिबाट कांग्रेसले गति लिन सक्दैन । पार्टीलाई नेताप्रधान नभइ नीतिप्रधान बनाउनुपर्छ,” उनले भने । 

कांग्रेस केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको प्रभावकारिता बढ्नुपर्ने र मेहनत अझ बढाउनुपर्ने विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेको जानकारी दिए । उनले बजेटको सन्दर्भमा देखिएका समस्यालाई पार्टीले गम्भीरताकासाथ लिएर छलफल गर्नुपर्ने सुझाव आएको बताए । सरकारमा उपस्थिति प्रभावकारी हुनुपर्ने सुझाव आएको उल्लेख गरे ।

"सरकारको प्रभावकारिता बढ्नुपर्‍यो, मेहनत गर्नुपर्छ । अझ प्रभावकारिताका साथ काम गर्नुपर्छ । कतिपय बजेटको प्रक्रियामा समस्याहरू देखिएका छन्, प्रदेश र केन्द्रमा । यसमा पार्टीले गम्भीरताकासाथ लिनुपर्छ । पार्टीले विशेष सरोकार राखेर छलफल गर्ने र निर्देशन दिने काम गर्नुपर्छ । सरकारमा उपस्थिति प्रभावकारी हुनुपर्छ । कुनैपनि त्रुटि वा कमजोरी हाम्रो तर्फबाट रहनु हुँदैन भन्ने चासो र चिन्ता छ," उनले भने । 

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सरकार राम्रो र चुस्तसँग चल्नुपर्छ भन्ने धारणा आइरहेको बताए । सरकारका कामका बारेमा टीकाटिप्पणी हुनु स्वभाविक भएको पनि उल्लेख गरे । सरकारमा रहेको पार्टीले सरकारका सन्दर्भमा आफ्ना विषय र अभिव्यक्ति राख्ने क्रममा सरकारका विषय आउने तर यसलाई नै लिएर सरकार परिवर्तन भइहाल्छ भन्ने नहुने बताए ।

"सरकार राम्रो र चुस्तसँग चल्नुपर्छ भन्ने धारणा आइरहेको छ । सरकारका कामका बारेमा टीकाटिप्पणी हुनु स्वभाविक हो । सरकारमा रहेको पार्टीले सरकारका सन्दर्भमा आफ्ना विषय र अभिव्यक्ति राख्ने क्रममा सरकारका विषय आउँछन्, जोडिन्छन् । यति भन्दैमा सरकार नै परिवर्तन हुन्छ भन्ने विषय होइन," उनले भने । 

केन्द्रीय सदस्य नारायणप्रकाश साउदले सातबुँदे कार्यक्रमलाई आधार बनाएर सरकार चल्नुपर्ने बताए । सातबुँदे कार्यक्रम सरकार गठनको औचित्य, भाबी कार्यदिशा र यसले मुलुकलाई रुपान्तरणका लागि निर्वाह गर्नुपर्ने भूमिकासँग सम्बन्धित रहेको उल्लेख गरे ।

"सातबुँदे कार्यक्रमलाई आधार बनाएर सरकार चल्नुपर्छ भन्दै आएका छौँ । सातबुँदे भन्नेबित्तिकै यो सरकार गठनको औचित्य, भाबी कार्यदिशा र यसले मुलुकलाई रुपान्तरणका लागि निर्वाह गर्नुपर्ने भूमिकासँग सम्बन्धित हुन्छ । यसमा संविधान संशोधन, सुशासन, भ्रष्टाचार निवारणका कुराहरू थुप्रै मुद्दाहरू छन् । यसमा सरकार प्रभावकारी रूपमा काम गर्नुपर्छ भन्नेकुरा पार्टीभित्र राख्दै आएका छौँ," उनले भने । 

केन्द्रीय सदस्य राजन केसीले सातबुँदेअन्तर्गतको संविधान संशोधनको मुद्दाबारे गृहकार्य भइरहेको बताए । सरकारबाट भएका कमी, कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे । 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्