
पोखरा । निर्माण व्यवसायीको पृष्ठभूमिका वडाध्यक्षले इन्जिनियरलाई बिल कम बनाएको भन्दै धम्की दिएका छन् ।
घटना कुश्मा नगरपालिकाको हो । कुश्मा नगरपालिका–१४ का वडाध्यक्ष रुद्रप्रसाद रिमाल निर्माण व्यवसायी समेत हुन् । तर, जनप्रतिनिधि भइसकेपछि उनले निर्माण कम्पनी श्रीमतीको नाममा सारेर आफैँले काम गर्दै आइरहेका छन् ।
त्यसको पुष्टि उनले इन्जिनियरलाई दिएको धम्कीबाट पनि पुष्टि हुन्छ ।
सडक बोर्डबाट सञ्चालित एक योजनामा आफूले भनेअनुसार बिल नबनाइदिएको भन्दै प्राविधिक प्रमुख राजेश बन्जारालाई उनले मोबाइलमा धम्कीपूर्ण मेसेज पठाएका छन् । ‘मसंँग दुश्मनी गर्ने कोही बचेको छैन’ भन्ने सन्देश पठाएका उनले नगरपालिकाको कार्यालयमा नै सोमबार बन्जराले तयार पारेको बिलसमेत च्यातेका छन् ।
त्यसको पुष्टि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले गरे । वडाध्यक्ष रिमालको असन्तुष्टि नै प्राविधिकले तयार पारेको बिलमा हो । उनले भनेअनुसारको बिल तयार नगरेपछि रिमालले प्राविधिकलाई धम्की दिएका हुन् भने बिल पनि च्यातेका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले रिमालले बिल च्यातेपछि तपाईं जनप्रतिनिधि हो कि निर्माण व्यवसायी हो भनेर प्रश्न गरेका थिए । “उहाँले बिल च्यात्नुभयो । मैले तपाईंले यस्तो नगर्नुहोस् । ठेकेदारी नगर्नुहोस्, कर्मचारीलाई नधम्क्याउनुहोस् । पदीय मर्यादा राख्नुहोस भने,” उनले भने ।
वडाध्यक्षले च्यातेको बिल फेरि उठाइने उनले जानकारी दिए । “पसलबाट ल्याउने जस्तो बिल होइन । इन्जिनियरले उठाएको बिल हो । पहिला इस्टिमेट, त्यसपछि काम भएको बिल उठाउनुहुन्छ । इन्जिनियरले तयार गरेको बिल हो, फेरि तयार हुन्छ,” उनले भने ।
यता वडाध्यक्ष रिमालले चाहिँ उपभोक्ता समितिबाट गुनासो आएको बताए । उनले बिल च्यातेको अस्वीकार गरे । “मेरो वडाको उपभोक्ता समितिले एक महिनाअगाडि काम सक्यो । इन्जिनियर नाप्न जाने, कहिले के भन्ने, कहिले के भन्ने गरेर समितिले मसँग गुनासो पोखे । पहिला बनाएको बिलमा छुटेको रहेछ, मिस्टेक भएछ,” उनले भने, “अब छुटेको हालेर अगाडि बढाउनुहुन्छ । फाइनल बिल बनाएको होइन, रुजु गर्ने भनेर बनाउनु भएको रहेछ । छुटेको भनेर फेरि बनाउने कुरा भएको छ । मैले बिल च्यातेको होइन ।”