
काठमाडौं । तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो उत्तराधिकारी हुने घोषणा गरेका छन् । तिब्बती बौद्ध धर्मका आध्यात्मिक नेताले बुधबार भारतको धर्मशालामा भेला भएका धार्मिक अगुवालाई एक भिडियो सन्देशमार्फत आफ्नो उत्तराधिकारी हुने बताएका छन् ।
नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा सन् १९५९ मा चिनियाँ कम्युनिस्ट शासनविरुद्धको असफल विद्रोहपछि तिब्बतबाट भागेर भार पुगेका थिए ।
“दलाई लामाको संस्था निरन्तर रहने म पुष्टि गर्छु,” दलाई लामाले रेकर्ड गरिएको भिडियोमा भनेका छन् ।
“गदेन फोद्राङ ट्रस्ट (दलाई लामाको कार्यालय)लाई मात्र भविष्यको दलाई लामाको पुनर्जन्मको मान्यता दिने अधिकार छ । यसमा हस्तक्षेप गर्ने कसैको अधिकार छैन,” उनले भने ।
उनले भविष्यको दलाई लामाको खोजी र पहिचानको प्रक्रिया विगतको परम्पराबाट गर्नुपर्ने बताएका छन् । तर, प्रक्रियाको थप विवरण खुलाएनन् ।
दलाई लामाले यसअघि आफू ९० वर्ष पुगेपछि उनले तिब्बती बौद्ध धर्मका उच्च लामाहरू र तिब्बती जनतासँग परामर्श गरेर दलाई लामाको संस्था निरन्तर रहुने वा नहुने भन्ने पुनर्मूल्यांकन गर्ने बताएका थिए ।
उनको ९०औँ जन्मदिनको केही दिनअघि बुधबारको घोषणाले निर्वासित तिब्बती नेताहरू र चीनको नास्तिक कम्युनिस्ट पार्टीबीच उनको उत्तराधिकारलाई लिएर ठूलो लडाइँको मञ्च तय गरेको बताइएको छ ।
चीनले भविष्यको दलाई लामालाई अनुमोदन गर्ने एकमात्र अधिकार आफूसँग रहेको दाबी गर्छ ।
गत मार्चमा प्रकाशित आत्मकथामा, दलाई लामाले आफ्नो उत्तराधिकारी चीनबाहिर स्वतन्त्र विश्वमा जन्मिने बताएका थिए । उनले आफ्ना अनुयायीहरूलाई चीनले चयन गरेको कुनै पनि उमेदवारलाई अस्वीकार गर्न आग्रह गरेका छन् ।
सीएनएनबाट ।