
काठमाडौं । माइक्रोसफ्ट कम्पनीले आउँदो बुधबार हजारौँ कर्मचारी कटौती गर्न लागेको छ । यो हालैका महिनामा गरिएको तेस्रो चरणको कटौती भएको सीएनएनले जनाएको छ ।
यो कटौतीबाट माइक्रोसफ्टको कुल ४ प्रतिशतभन्दा कम अर्थात् करिब नौ हजार कर्मचारी प्रभावित हुने कम्पनीका प्रवक्ताले जनाएका छन् ।
प्रविधिको एक दिग्गज कम्पनी माइक्रोसफ्टले सन् २०२३ मा १० हजार कर्मचारी कटौती गरेको थियो । त्यसपछिकोे यो सबैभन्दा ठूलो कटौती हुने सीएनएनले जनाएको छ ।
सम्पूर्ण प्रविधिजन्य उद्योगमा जनशक्ति कटौती भइरहेका बेला यो घोषणा गरिएको हो । घोषणापछि पनि माइक्रोसफ्टको स्टक मूल्यमा कुनै परिवर्तन भएको छैन ।
कम्पनीले प्रशासनिक तह घटाउँदै र नयाँ प्रविधिको प्रयोगबाट कर्मचारीलाई थप उत्पादक बनाउने कार्य गरिरहेको जनाएको छ । “हामी गतिशील बजारमा कम्पनीलाई सफलताका निम्ति उत्तम स्थानमा राख्न आवश्यक संगठनात्मक परिवर्तन लागु गरिरहेका छौँ,” माइक्रोसफ्टका प्रवक्ताले एक वक्तव्यमा भनेका छन् ।
माइक्रोसफ्टका सीईओ सत्य नडेलाले कम्पनीको २० देखि ३० प्रतिशत ‘कोड’ एआईद्वारा उत्पन्न भइरहेको र यसको पूर्वाधारमा अर्बौँ डलर लगानी गरिरहेको यो वर्षको सुरुमा बताएका थिए । बुधबारको कटौतीमा एआईले प्रत्यक्ष योगदान गरेको हो वा कुन माइक्रोसफ्ट विभाग प्रभावित हुने भन्ने स्पष्ट छैन ।
माइक्रोसफ्टको एक्सबक्सका प्रमुख फिल स्पेन्सरले एक आन्तरिक ‘नोट’ पठाएर यो कर्मचारी कटौतीमा उनको विभागको टिम पनि प्रभावित हुने बताएका छन् ।
ब्लुमबर्गले यसअघि जुलाईमा गरिने योजनाबद्ध कटौती बिक्री र एक्सबक्स टोलीलक्षित हुने उल्लेख गरेको थियो ।
माइक्रोसफ्टले मे महिनामा ३ प्रतिशत अर्थात् करिब सात हजार कर्मचारी कटौती गरेको थियो । त्यसपछि योपटक नौ हजार कर्मचारी कटौती गर्न लागेको हो ।
सन् २०२४ को जुलाईसम्म माइक्रोसफ्ट कम्पनीमा दुई लाख २८ हजार कर्मचारी कार्यरत थिए ।