site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इन्डोनेसियाको बालीमा डुंगा डुब्दा चारजनाको मृत्यु, दर्जनौँ बेपत्ता

काठमाडौं । इन्डोनेसियाको पर्यटकीय टापु बालीनजिकै डुंगा डुब्दा कम्तीमा चारजनाको मृत्यु भएको छ । दर्जनौँ व्यक्ति बेपत्ता छन् । दुर्घटनामा २३ जनाको उद्धार गरिएको त्यहाँको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले जनाएको छ ।

डुंगामा ५३ यात्री र चालक दलका १२ सदस्य सवार थिए । डुंगा बुधबार स्थानीय समयानुसार राति ११ः२० बजे डुबेको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डुंगा जाभा टापुको पूर्वी तटस्थित बान्युवांगीबाट बालीतर्फ जाँदै थियो । बिहीबार बिहान एउटा लाइफबोटमा चार यात्री फेला परेका छन् । अरूको खोजी जारी छ ।

“२३ जनाको उद्धार गरिएको छ । चारजनाको मृत्यु भएको छ,” पूर्वी जाभाको बान्युवांगीका प्रहरी प्रमुख रमा सम्तमा पुत्राले एएफपीलाई बताए ।

आपत्कालीन अवस्थाका निम्ति धेरै एम्बुलेन्स तयारी अवस्थामा राखिएको समाचार एजेन्सी अन्तराले जनाएको छ ।

इन्डोनेसियाका अधिकारीले डुंगा डुब्नुको कारणबारे अनुसन्धान गरिरहेको बताएका छन् । 

साउदी अरबको भ्रमणमा रहेका राष्ट्रपति प्राबोवो सुबियान्ताले तत्काल आपत्कालीन प्रतिकार्यका काम गर्न निर्देशन दिएका मन्त्रिपरिषद् सचिव टेडी इन्द्रा विजयाले बताएका छन् । उनले दुर्घटना प्रतिकूल मौसमका कारण भएको उल्लेख गरेका छन् ।

तर, स्थानीय डुंगा सञ्चालकले डुब्नुभन्दा केही समयअघि इन्जिनमा खराबीको सूचना प्राप्त भएको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्